
काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा मंगलबार हरियाली देखिएको छ। थामिने आधार नभेटिएर ओरालो लागिरहेको सेयर बजार मंगलबार ३७.४९ अंकले बढेर १९२२.३० बिन्दुमा पुगेको छ। मंगलबार १ अर्ब २५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ।
उच्च अंकबाट लगातार घटिरहेको सेयर बजार सोमबार अघिल्लो बुलको उच्च बिन्दु १८८१ नजिक पुगेको थियो। २०७३ को बुलमा उच्च बिन्दु १८८१ सम्म पुगेको थियो। पछि घटेर १२०० को बिन्दुमा पुगेको नेप्से गतवर्ष ३१९९ को बिन्दुमा पुगेको थियो। सोमबार ४९.३१ अंकले घटेर सेयर बजार १८८४.८१ बिन्दुमा झरेको थियो। यो साता पहिलो कारोबारमा आइतबार ३७.२७ अंकले घटेर बजार १९३४.११ बिन्दुमा झरेको थियो।
पछिल्लो समय संगठित लगानीकर्ताहरूको निरन्तरको दबाबका बीच सेयर बजारको अवस्थाबारे संसदमा समेत बारम्बार कुरा उठिरहेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा समेत सांसद सुवालले नेपाल धितोपत्र बोर्ड परिसरमा सेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउँदै सुधारको माग गरेका थिए। त्यसअघि कांग्रेस सांसद गगन थापाले पनि सेयर बजारप्रति सरकार अनुदार बन्न नमिल्ने बताएका थिए।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर सेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया