Pura Samachar

पर्यटनले जन्माएको एक विश्व कीर्तिमानी युवा

प्रकाशित: June 22, 2022
पूरा समाचार

पर्यटनले जन्माएको एक विश्व कीर्तिमानी युवा

सन्च बहादुर राई विश्व किर्तिमानी / विश्व कीर्तिमानी समाजको अध्यक्ष                                                                      मैले जन्मे पछि पहिलो पटक प्राप्त गरेको नै  सन्च भन्ने नाम हो। मलाई सन्च भन्ने नाम मेरो जेठा बाबाले दिनु भएको रहेछ। म सनिवार जन्मेको हुनाले मेरो नाम सन्च राखी दिनु भएको रहेछ। उहाँ अहिले यस लोकमा हुनुहुन्न तर उहाले दिनु भएको मेरो नाम अहिले नि छ भोलि नि हुनेछ। यो नाम नै मेरो पहिलो प्राप्ति भएको हुदा मलाई मेरो नाम प्रिय लाग्छ। । म २०४८ सालमा सोलुखुम्बु जिल्लाको साबिक बासा गा वि स वडा न ९ हाल माप्य दुधकोशी गाउँ पालिका वडा न २ मा अत्ति बिपन्न परिवारमा जन्मिएको थिए।

मैले जन्मे पछि पहिलो पटक महसुस गरेकै अभाव हो। यदि कर्म अनुसारको फल पाउने कुरा सत्य थियो भने मलाई अहिले पनि भगवानलाई सोध्न मन लाग्छ कि मैले नजन्मदै के अपराध गरेको थिए र जन्मदै अभाव झेल्दै जन्मिनु पर्‍यो? मैले अनि मेरो परिवारले दुई छाक भात खान अरुको दैलोमा पुग्नु पर्ने के थियो होला? आफ्नो आङ ढाक्न अरुको सरिरको कपडा फाट्नु पर्ने के त्यो कुन जमानाको पाप थियो होला? अहिले पनि बिगत सम्झेर मलाई राती निन्द्रा लाग्दैन अनि दिनमा भोक लाग्दैन। मलाई जन्मे देखि आजसम्म हरेक क्षेत्रमा हरेक क्षण अभावमा नै बाचेको छु तर पनि मेरो खुट्टा तान्ने र कुरा काट्नेहरुको भने मलाई कहिल्यै अभाव भएन र छैन। मेरो बिगत र वर्तमान यस्तो छ।

बाल्यकालमा साह्रै घमन्डी र अराजक थिए। म ६ जना दाजु भाईहरु मध्य साईलो भाई हु। म भन्दा माथी एक दिदी हुनुहुन्छ। मैले पहिलो पटक आफू शक्तिशाली ठानेकै दिदिलाई पिट्दा हो। घरमा मैले पिट्न सक्ने दिदी हुनुहुन्थ्यो। मैले मौका पारेर पिटि हाल्थे आफू भन्दा ठूलो मान्छेलाई पिट्न सकेकोमा खुब खुसी लाग्थ्यो। दिदी छोरी मान्छे भएकोले बढी घरको काम गर्नु हुन्थ्यो। घरको धेरै काम गर्नु हुने भएको हुदा सबैको प्यारी हुनुहुन्थ्यो त्यो कुराले मलाई भित्र मनमा आरिसले जलेको रहेछु। पछि दिदिलाई गरेको अत्याचारले सिमा नाघेपछि मलाई ममिले दिदिलाई भन्दा पहिला स्कुल पठाउनु भएछ। उद्देश्य भनेको मात्र स्कुलमा सरहरुले कुटेर मलाई सुधारोस भन्ने रहेछ। म पहिलो वर्ष फेल भए दोश्रो वर्ष देखि कहिल्यै दोश्रो हुन जानिन र भैन पनि। प्रथम भएर पाएको पुरस्कार नै मेरो अध्ययनको लागि राम्रो श्रोत बन्यो। म जब प्रथम भए मलाई अरुले फुर्क्याएर पनि होला म स्कुलमा पनि बिस्तारै मातिन थालेछु। कसैलाई नटेर्ने, दुख दिन थाली सकेछु। सक्नेलाई कुटि हाल्ने म बन्दै हार्नै नचाहाने स्वभाव। पछि म तीन कक्षाबाट रेस्टिकेट समेत भए। मेरो जिन्दगिमा त्यो रेस्टिकेट पनि एउट यु टर्न भयो। म फेरि पनि केही दिन पछि सुध्रिएर स्कुल फर्के र मेरो अध्यनलाई निरन्तरता दिए।

टिभी हेर्न खालि खुट्टा जिरीसम्म गए

त्यो समयमा जिरी देखि गाउँ नजिक नुनथला भन्ने ठाउँ सम्म साहुको भारि बोक्ने चलन थियो। दाईहरु जाने आउने गर्नु हुन्थ्यो। जम्मा ९ दिन लाग्थ्यो। प्रती धार्नी ५० रुपैया थियो ज्याला  दाईहरुले कुरा गर्नु भएको सुन्थे जिरीमा गाडी देख्न पाईन्छ टिभी देख्न पाईन्छ। बिस्तारै मलाई पनि त्यो रहर जाग्यो। मैले जिरी जान घरमा प्रस्ताव राखे तर त्यो पारित भएन र हुने कुरै थिएन म त्यो बेला जम्मा १० वर्षको थिए। प्रस्ताव फेल भएपछि बदलामा मैले स्कुल छोडी दिए। मेरो जिद्दिको अगाडि केही नलागेपछि मेरो बाबाले २०५८ साल असार ४ गते जिरी लानु भयो। म त्यहि दिन होला जीवनमा सबै भन्दा बढी खुसी भएको दिन। म यत्ती खुसि थिए कि मैले अर्को कुनै नया संसार देख्दै छु। म पहिलो पटक घरबाट टाढाको यात्रामा थिए। मेरो मनमा गाडी र टिभी हेर्ने बाहेक अरु केहि थिएन। मैले जीवन मा पहिलो पटक टेलिभिजन देखेको २०५८ साल असार ६ गते बिहान ८ बजे रामेछाप जिल्लाको देउराली मा हो। खुसीको कुरा मैले सोही दिन जिरिमा पहिलो पटक गाडी देखे। जिरिमा बाबाले रु ६५ रुपैयामा एक जोर गम्बुट किनि दिनु भयो। त्यहासम्म खाली खुट्टा नै गएको थिए। जिरिबाट म ७ धार्नी भारि बोकेर नया गम्बुटसङ्ग जोसिएर आएको पल सम्झन्छु खुसी र रमाइलो लाग्छ। बर्खाको समय गम्बुटमा पानी पसेछ र एकै दिनमा कालो छाला सेतो भएर पानी जम्न थाल्यो हिड्न नभए पछि पुन गम्बुट चाहिँ भारिमा बोकेर खाली खुट्टा नै भारी बोकेर  आए। बाटोमा थला परेर एक धार्नी चाहिँ बाबाले बोकि दिनु भयो। यो नै मेरो बाल्यकालको रमाईलो परिबेश थियो।

म परिवारलाई दुख दिनु आफुले जित्नु सम्झन्थे

घरमा अरुलाई दुख दिनु मेरो दिनचर्या जस्तै थियो। सबै भन्दा बढी दुख दिने म थिए घरमा। मेरो जिद्दी र घमण्डको अगाडि कसैको केही चल्दैन थियो। मेरो आमाले मलाई सुधार्न नसकेर स्कुलमा समेत मलाई कुटेरै भए पनि सुधारी दिन अनुनय बिनय गर्न पुग्नु हुन्थ्यो रहेछ। त्यस समय हाम्रो ठूलो परिवार खान लाउन नपुग्ने परिवार पाल्न अरुकोमा काम गर्न जानू पर्ने बाध्यता थियो आमा बाबाको। मलाई याद छ हाम्रो घरमा रिथे र मान्के भन्ने एक हल गोरु थियो। मेरो आमाले अरुको वारि जोत्न हलो र जुवा बोकेर अरुकोमा काम गर्न जानू हुन्थ्यो। एक दिन काम गरेवापत १५० रुपैया ज्याला दिन्थे अरुले। त्यसरी हामीलाई आमा बुबाले हुर्काउनु भएको कुराले आजभोली निदाउन दिदैन। हाम्रो गाउ समाजमा त्यो बेला महिलाहरुले लुङ्गी लाउने चलन थियो कट्टु लाउने चलन सुरु भएको थिएन। गोरु जोत्न असजिलो भएकै कारण मेरो आमाले सुरुमा कट्टु लाउन सुरु गर्नु भएको थियो। अहिले सबैले कट्टु लाउनु सामान्य मानिन्छ प्राय सबैले लाउनु हुन्छ आमाहरुले। त्यो अर्थमा मेरो आमा परिवर्तनको हिसाबले एक परिवर्तनकारी योद्धा पनि हुनुहुन्छ। मेरो आमा प्रती उच्च सम्मान पनि छ। मेरि आमा आफ्नो सन्तानको लागि दुख गरेर हामीलाई बिहान बेलुका खाना खुवाउनु हुन्थ्यो।  म खाना खाने बेला साह्रै दुख दिन्थे खाना नखाई दिने। अनि मेरो आमाले भन्नु भएको एउटै कुरा अहिले नि भारी हुन्छ। मेरो पालोमा तिमिहरुलाई चामल को भात खुवाउन सकिन तिमीहरुको पालोमा मासु भात मात्र खाने हुनु मेरो आशिर्वाद छ। आज भोलि सम्झन्छु त्यो आमाको बोली अहिले आशिर्वाद लागेको भनौ या श्राप? आमाले भन्नू भएको जस्तै मेरो भागमा जुर्न त मासु भात नै जुर्‍यो तर यहाँ सहरमा र ढिडो खान त भाग्य बलियो हुनुपर्दो रहेछ। ढिडो खान त हैसियत पो चाहिदो रहेछ। गाउमा गरिबले खाने ढिडो सहरमा त धनिमानीहरुले आफ्नो ईज्जत ढाक्न पो खाने रहेछ। त्यो ढिडो खानेको सान त बेग्लै पो हुने रहेछ मलाई यत्ती बुझ्न मेरो जीवन को आधा समय पर्खिनु पर्‍यो। यो मेरो सबै भन्दा कमजोर पाटो थियो जीवनमा।

प्रथम हुन नपाएको झोकमा स्कुल नै छोडेर भागे

म कक्षा ७ पास गरेपछि कक्षा ८ पढ्न मेरो जेठा दाई र भाउजुले हिमाली क्षेत्र खुम्बुको चौरिखर्क लानु भयो। कारण दुई वटा थियो पहिलो कारण त्यहा अत्यान्तै राम्रो पढाई हुने तर हामी जस्तो सामान्य परिवारको लागि सपना मात्र थियो। अर्को तत्कालिन जनयुद्धले गाउमा अलिक पढाईमा असहज थियो। त्यही भएर  मलाई दाईले २०६३ सालमा चौरिखर्कको महेन्द्र ज्योती स्कुलमा कक्षा ८ मा भर्ना गराउनु भयो। त्यस समयमा मेरो दाई भाउजुले मेरो लागि एक वर्षमा ८० हजार खर्च गर्नु भएछ। त्यो अर्थमा मेरो दाई भाउजू मेरो आमा बाबा पछिको अर्को आमा बाबा नै हुन।  भगवान नै हुनुहुन्छ। कक्षा ८ मा हामी ४९ जना थियौ। परिणाम स्वरुप फाईनल परिक्षा हुदा म १४ औ स्थानमा झरे छु। म कहिल्यै अरुसङ्ग हार्न नचाहने नहारेको मान्छे कहिल्यै दोश्रो नभएको मलाई रिस उठ्यो। प्रथम हुन नपाएको झोकमा स्कुल नै परिवर्तन गरेर फेरि गाउँ नै झरे प्रथम हुनलाई। हुन त त्यो बेला त्यहा पास मात्र हुन नि ठूलो कुरा थियो। सबै एक से एक थिए तर पनि मलाई हार स्विकार थिएन जित्नै पर्थ्यो। यो मेरो लागि खराब साबित भयो।

अरुको भारी चोरेर ट्रेकिङ सुरु गरे

सुरुमा जिरी मेरो जिद्दीले दोलखासम्म भारी बोक्न गएको तर पछि बिस्तारै बाध्यतामा परिनत भयो। हामी स्कुल बिदा हुने बित्तिकै साथिहरुसङ्ग जिरी भारी बोक्न गै हाल्थ्यौ। अलिअली पैसा आफै भारी बोकेर पढाई खर्च जोहो गर्थ्यौ। जिरिबाट सोलुखुम्बुसम्मको सबै खुड्किलाहरु ओडारहरु अहिले पनि मेरो मनमा ताजै छ। त्यसरी सानै देखि भारी बोक्न सिपालु मलाई अब बिस्तारै कुईरेको भारी बोकेर ट्रेकिङ जान मन लाग्यो जब म ६३ सालमा चौरीखर्क अध्यनको शिलशिलामा गए त्यहाबाट लुक्ला नजिक पर्थ्यो। लुक्ला आफैमा सगरमाथाको प्रबेशद्वार भएको हुनाले त्यहा बिदेशी पर्यटकहरुको आवतजावत बढी नै हुने गर्थ्यो। गाउका दाईहरु प्राय ट्रेकिङ गर्ने हुदा मलाई नि ट्रेकिङ जाने शोख बढी नै थियो। म साथीहरुसंग दसै बिदामा गाउँ नझरी लुक्ला विमानस्थल धाउथे। चिने जानेको गाईडहरुसंग भरिया जानको लागि अनुरोध गर्थे तर कसैले मलाई विस्वास गर्दैन थे। विस्वास गर्नु पनि कसरी म जम्मा १४ वर्षको थिए। हिमाल तिर भारी बोकेर जाने कुरा त्यत्ती सामान्य पनि थिएन। तै पनि मैले ट्रेकिङ जाने सपनामा पुर्ण बिराम लगाएको थिईन। एकदिन लगभग दिन भरी भारी खोजेर नपाएर कोठा फर्किने बेला मेरो एकजना साथीलाई भेटे। उनिहरु ट्रेकिङ जान लागेको रहेछ। मैले सोधे मलाई भारी छैन? उसले भन्यो खै एक जना दाईको भारी चाहिँ छ अहिले आउछु भनेर गाको आको छैन गाईडलाई सोध्नुपर्छ। मैले सोधी दिन र मलाई लान अनुरोध गरे। त्यो साथिले गाईडलाई भन्यो। तीन जना अमेरिकन बिदेशी रहेछन शेर्पा साङ्ग्रीला ट्रेक्सबाट गाईड भरत कार्की आउनु भएको रहेछ। कार्किले मलाई तलदेखी माथीसम्म हेर्नू भयो। तिमी जान सक्दैनौ नजाउ भन्नू भयो तर मैले आफ्नो अत्ति नै ईच्छा भएको बताए पछि उनले अरु नै भरिया खोजी सकेको आएन भने लाने बताउनु भयो। त्यो पनि आधा बाटोबाट फर्किने सर्तमा। म त्यहाबाट भारी बोकेर जान जस्तो सर्त पनि मान्न तयार थिए हुन्छ भने। मनमा अत्यान्तै डर थियो कि ती भरिया आईपुगेर मैले बोक्न पाउदिन कि भनेर। मलाई यति धेरै हतार भयो कि कहिले भारी बोकेर हिडौ भनेर। केही समय पछि मैले भारी टिपेर लान्छु नभनी हिडि हाले। त्यसपछि मैले झन्डै तीन किलोमीटर टाढा नबिसाई दौडाएर मात्र बिसाए। त्यसपछि चाहिँ मलाई अलिक ढुक्क भए पहिलाको भरियालाई भारी दिनुपर्दैन होला। पछि बुझ्दा त्यो भारी चाहिँ ग्रुप लिडरको रहेछ। ग्रुप लिडरको भारी तुलनात्मक हिसाबले अलिक गह्रौ हुने रहेछ।  अर्को कुरा चाहि अन्य ट्रेकिङ भन्दा भारि अलिक बढी थिएछ। त्यही भएर ती भरिया जान तयार नभएर फेरि आउने बाहानामा गएका रहेछन। त्यसरी गह्रौ भारी बोकेर म अगाडि अगाडि दौडेर बिदेशीहरुको झोला समयमै पुर्‍याउथे। सुरुमै मलाई बिदेशी र गाईडले मन पराउनु भएछ। मलाई डर थियो नाम्चेबाट गाईडले फर्क भन्नू हुन्छ होला लागेको थियो तर तिमिले सक्ने रहेछौ भन्नू भयो म कम्ता खुसी भैन फर्किनु परेन भनेर। मलाई त्यो बिश्वास र मेरो लागि त्यो जोखिम उठाउनु हुने गाईड भरत कार्की प्रती उच्च सम्मान र कृतज्ञता प्रकट गर्न चाहान्छु।

ट्रेकिङको अन्तिममा मलाई ईमेल ठेगाना छोड्नु भयो

मैले भारी बोकेको कृस लस जसले मलाई अत्यान्तै माया र बिस्वास गर्नु भएको रहेछ। म अङ्ग्रेजी बोल्न सक्दिन थिए। लुक्लामा अन्तिम दिन एउटा भिटिङ कार्डमा मलाई उसको ईमेल ठेगाना छोडेर जानू भयो। मेरो गाईडलाई भन्नू भएको रहेछ। सन्चलाई म ६ महिनाको लागि अमेरिका लान्छु कम्प्युटर र अङ्ग्रेजी राम्रो सिक्न भन्नु भएको रहेछ। मलाई यो कुरा मेरो गाईडले बिना स्वार्थ भन्नू भयो। ईमेल ठेगाना त छोड्नु भयो तर मलाई कागलाई बेल पाक्यो हर्स न बिस्मात भने झै भयो। न मलाई अङ्ग्रेजी आउने नत कम्प्युटर नै देखेको। तै पनि अमेरिका जाने सपना चाहिँ देखि हालेछु। मैले ६३ पछि एकै चोटि ६७ सालमा कृसलाई ईमेल पठाए। तुरुन्तै जवाफ आयो फेरि भेट भयो खुसी लाग्यो। अब तिमी अमेरिका आउनु पर्छ। म त अमेरिका नै टेकिसकेको जस्तो लाग्यो। हावामा उड्न थालेछु। साह्रै हौसिएर मेरो पढाई पनि बिगारे मन पनि बिगारे बतासे नै भएछु। म संसारकै सबै भन्दा भाग्यमानी सम्झिन थाले आफुलाई। तर म गलत गर्दै छु भन्ने चाहिँ दिमागमा ढिलो आयो तर कडा आयो।

३ हजार लिएर काठमाडौ आए

म २०६९ साल फाल्गुनमा काठमाडौ आए। म घरबाट ३ हजार लिएर आएको थिए। काठमाडौ आईपुग्दा २७५ बाकी रहेछ म संग। म काठमाडौ बौद्ध पानी ट्याङ्की नजिक ठूलो ममिको छोरिहरुसंग बसे। केही दिन त बसे तर मलाई थाहा थिएन म किन काठमाडौ आएको? अब के गर्ने? के खाने? कहाँ बस्ने? अमेरिका कहिले बोलाउछ पनि थाहा छैन। केही समय बसेपछि मैले कोठा खोज्न थाले। गाउकी एक जना अन्जना नामको मगर नि दिदी हुनुहुन्थ्यो। उहालाई कोठा खोजि दिन अनुरोध गरे। त्यो बेलासम्म मलाइ थाहा थिएन काठमाडौमा कोठा खोज्न सानोतिनो अन्तर्वार्ता नै दिनुपर्ने रहेछ। के गर्छौ? घर कहाँ हो? बिहे गरेको छ कि छैन? जागिर छ कि छैन? आदि आदि। दिदिले मेरो भाई हो भनेर उहाकै बिस्वासमा टिनको छाना भएको सानो घरमा एउटा कोठा मासिक १५०० मा लिए। कोठा त लिए तर म संग पैसा थिएन। जेठा दाईलाई पैसा मागे किन काठमाडौ बस्नु पर्ने भनेर सोध्नु भयो मैले ढाटे मलाई अमेरिका जानुपर्ने भयो म केही समय यहाँ अङ्ग्रेजी सिकेर जानुपर्ने भयो भने । दाईले मेरो विस्वासमा ३० हजार पैसा पठाउनु भयो। त्यही दिदिको चिनजानको एक जना बाहुन बाजेकोमा एउटा बेड किनिदिनु भयो। त्यहा सस्तोमा पाईन्छ भन्नू भयो। पछि थाहा भयो त्यो खाट बाजेले पुजा गर्दा अरुले दान गरेका रहेछन। थाहा पाएपछि साथिलाई बेची दिए। त्यो दिदी प्रती पनि म ऋणी छु।

भुकम्प गएपछि अमेरिका बोलाउनु भयो।

मेरो जिन्दगी काठमाडौको गल्ली भित्र बिना उद्देश्य बित्दै थियो। अभावको त कुरै नगरौ। काठमाडौको आधा भन्दा बढी त खुट्टाले हिडेर नै डुलियो होला। अनि थाहा भयो कि काठमाडौ चाहिँ बिना कामले बस्ने ठाउँ हैन रहेछ। कत्ती भोकै बसियो त्यो त सामान्य रहेछ। न गाउ फर्किने अवस्था थियो नत यहाँ बाच्ने अवस्था नै। यसरी नै नर्कमय जीवन बित्दै थियो ७२ सालमा महा भुकम्प गयो। तत्काल उसले मलाई तिमिलाई गाह्रो भयो अब अमेरिका आउ। लगभग माया मारिसकेको अमेरिकाले फेरि दुख दिन थाल्यो। त्यसपछि उसले मलाई प्राय दुई तीन महिनाको बिचमा खर्च पठाउन सुरु गर्‍यो। उसकै सहयोगमा मैले अमेरिका एप्लाई पनि गरे। म कहिल्यै हार्न नचाहाने आफुलाई कहिल्यै कमजोर छु नलाग्ने मलाई जुन दिन अमेरिकन एम्बेस्सीले एउटा पत्र दियो।  बाहिर निस्केर हेरेर धेरै रोए। त्यहा लेखिएको रहेछ तिमी अमेरिका जान अयोग्य भएको कारण भिसा दिन सकेनौ माफ गर्नु होला। म पहिलोपटक आफू अयोग्य र असक्षम भएको पत्र आफैले बोकेर कोठा फर्किए साह्रै रोए। त्यहि दिन मैले म को हु अनि मेरो हैसियत  के रहेछ थाहा पाए। केही समय पछि पुन एप्लाई गरे त्यही भयो। अनि म मा चाहिँ एकखालको आक्रोश जन्मिन थाल्यो। म एकदिन अमेरिका जानुपर्छ म सक्षम छु भनेर देखाउनु छ। त्यसपछि बिस्तारै म आफै भित्रको कमजोरीसंग लड्न थाले। उसले नि खाना लाउन पुग्ने गरि पैसा पठाउन थाल्यो। नेपालमै अमेरिकन संस्थाले संचालन गरेको खुम्बु क्लाईम्बिङ स्कुलमा काम गर्न पठाउनु भयो। मैले काम गरे सिके पैसा नि धेरै थोरै कमाएर फेरि अमेरिका जाने तयारी मा हुँदै गर्दा कोभिड १९ को संक्रमन फैलियो। फेरि ब्रेक लाग्यो अमेरिका तर पैसा चाहिँ निरन्तर पठाई रह्यो यो अर्थमा कृस पनि मेरो लागि एक भगवानको अर्को रुप हो।

कोभिडको कारण विश्व कीर्तिमानी भए

अमेरिका जाने तयारीमा बस्दै थिए फेरी कोरोना लाग्यो। मेरो जीवनमा तेश्रो पटक अमेरिका जाने सपनामा टुसारोपात लाग्यो। म केही नगरी बस्न नसक्ने चन्चले स्वभावको म कोरोनाले घरभित्रै बन्दी बनाएर राखेपछि म हायलकायल भए। अस्तब्यस्त जीवनबाट मुक्ती पाउन अनेक उपाय सोचे केही भएन। त्यही बेला मेरो मनमा एउटा गीतको भिडियो बनाउन मन लाग्यो। म हिमाल तिर खेली हुर्केको त्यहिको हावा पानी राम्रो लाग्छ। लकडाउनमा त्यस्तै रमाईलो ठाउँ तिर जान पाए अलिक हल्का हुन्थ्यो जस्तो लाग्थ्यो। अनि सोच बनाए विस्वको सबै भन्दा अग्लो ठाउमा म्युजिक भिडियो बनाएर विश्व कीर्तिमानी हुने। किनभने त्यसको केही समय अगाडी म आफैले नेतृत्व गरेको टिमले विश्व कीर्तिमान कायम गरेको थियो। मैले गायिका बबिनालाई मेरो योजना सुनाए उहाले गरौ भनेर अझ उर्जा थप्नु भयो। त्यसपछी प्राबिधिक कुराको लागि धेरै पटक विश्व कीर्तिमान कायम गर्नु भएका मेरो आदरणीय गुरु मित्र पुष्कर नेपाल सरलाई सहयोग मागे उहाले बिनासर्त मलाई हुन्छ म सहयोग गर्छु भन्नू भयो। त्यसपछि म लकडाउनको बिचमा पनि निक्कै हौसिए। हामी टिममा काम गर्न थाल्यौ। प्रतिभाका खानी श्रदय श्रष्टा मिलन किराँतीले गोक्यो रि नामक मिठो गीतको सृजना गर्नु भयो। बहुप्रतिभाशाली लोकप्रिय कलाकार बिक्रम राईले संगीत र आदरणीय वरिष्ठ संगित संयोजक फनिन्द्र राईको संगीत संयोजन र बबिना किराँती को सुमधुर स्वर रहेको गोक्यो री गीत तयार भयो। पुष्कर नेपालले प्राबिधिक पाटो सम्हाल्नु भयो। हामिले पहिलो पटक स्टुडियो बाहिर लाईभ गीत रेकर्ड गर्दै थियौ जुन ४८१३ मिटरमा थियो। नेपालको वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले गीत रेकर्ड गर्ने र सोही ठाउमा निर्देशक दुर्लभ जन्तरेले भिडियोको निर्देशन गर्ने र मैले टिमको नेतृत्व गर्ने गरि तयारी गर्‍यौ। बासुरिमा पावल राई, गिटारमा राजिब बैजु, अक्टाप्याडमा बिक्रम गुरुङ, मादलमा बिक्रम राई, आर्टिष्टमा बबिना किराँती आफै, अनिश मगर, बाल कलाकार रायल राई, छायांकनको लागि ईशाक जबेगु, सहयोगी छायांकनको लागि दुर्गा राई, र ईन्जिनियर संतोष नेपाल सहितको हाम्रो टिमले  लकडाउन भित्रै सबै तयारी पूरा गर्‍यौ। मैले ब्यबस्थापन र कानुनी प्रक्रिया पूरा गरे। सबै कलाकार र बाद्यबादक सहित हामीले पहिलो पटक ४८१३ मिटरको उचाई रहेको गोक्यो ताल नजिक सबै काम नोभेम्बर ७ २०२१ मा सम्पन्न गरि हाम्रो टिमले विश्व कीर्तिमान कायम गरि गिनिज बुकमा नाम लेखाउन सफल भयौ। यो रेकर्ड सफल हुनुमा अन्य थुप्रै सहयोगी हातहरुको नगन्य साथ रहेको थियो। हामीले नेपाली गीत संगीत र पर्यटन क्षेत्रको विश्व ब्यापी प्रबर्द्धन गर्ने लक्ष्य राख्दै विश्व कीर्तिमान कायम गरि नेपालको गौरबमय ईतिहास निर्माण गर्‍यौ। यो ऐतिहासिक क्षणमा म विश्व कीर्तिमानी गायक, तथा संगीतप्रभाकर पुर्ण राईलाई हृदय देखि सम्मान ब्यक्त गर्दै उहाको सहयोगको खुलेर प्रसंशा गर्न चाहान्छु। पुर्ण राई जो मलाई यो सहरमा सुरु देखि बामे सर्न सिकाउनु भयो। मेरो अभिभावकत्व ग्रहन गरिदिनु भयो। म उहाकै प्रेरणाले विश्व कीर्तिमानी भएको कुरा म भुल्न सक्दिन। मैले काठमाडौमा अर्को भुल्नै नहुने नाम हो गिता राई। जो मेरो र मेरो परिवारको सफलताको लागि हरपल कामना र सहयोग गरि रहनुहुन्छ। उहाको सम्पूर्ण परिवार प्रती हाम्रो परिवार आजिवन ऋणी छौ।

आफ्नै रेकर्ड अरुको नाममा पार्न आफै योजनाकार

 

संसारमा आफू जस्तो अरुलाई कसैले देख्न चाहादैन तर हामीमा त्यो गुण थिएन। हामीले आफ्नो नाममा रहेको रेकर्ड पुन अन्य साथिहरुको नाममा बनाउने योजना हामी भित्रैबाट बन्यो। हामीलाई लाग्यो धेरै जना विश्व कीर्तिमानी भयौ भने धेरै जनासङ्ग सहकार्य हुन्छ।  धेरै काम गर्न सकिन्छ भन्ने उदेश्य राखेर हामिले सोलुखुम्बु कै मेरा आसपासमा गएर ५०२० मा पुन रेकर्ड कायम गरि आफ्नै रेकर्ड ब्रेक गरि अन्य साथिहरुलाई विश्व कीर्तिमानी बनाउन म आफैले नेतृत्व गरे। त्यसमा पुर्ववत सबै साथिहरुको साथ सहयोग रह्यो। हाम्रो उदेश्य धेरै जना विश्व किर्तिमानी भयौ भने विश्व कीर्तिमानीहरुको विधिवत संस्था नै स्थापना गरि केही काम गर्ने योजना मुतबिक यो प्रयास गर्‍यौ। हामी सफल पनि  भयौ। अहिले गिनिज बुकमा नाम लेखेकाहरुको साझा संस्था विश्व किर्तिमानी समाजको स्थापना भएको छ। जसको नेतृत्व गर्ने जिम्मा र भरोसा मलाई गर्नु भएको छ। म त्यसको लागि मेरो टिमप्रती आभार ब्यक्त गर्दछु। मलाई नेतृत्व प्रदान गरेर मेरो नेतृत्वलाई सफल तुल्याउन मेहनत गर्नुहुने साथिहरुको जत्ती नै खुलेर प्रसंसा गरेपनि कम हुन्छ। हाम्रो विश्व कीर्तिमानी समाजले भखरै अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम पहिलो पटक मे २९ को दिन  सगरमाथा दिवसको अवसर पारेर सगरमाथा आधार शिबिर ५३६३ मिटरमामा पहिलो पटक world’s highest climate summit 2020  सम्पन्न गर्‍यौ। जहाँ अमेरिकाको दुई वटा विश्व विद्यालयका बैज्ञानिकहरुको सहभागिता रह्यो। हाम्रो उदेश्य विश्व को अग्लो ठाउँबाट विश्व समुदायलाई जलवायु परिवर्तन सम्बन्धि जनचेतना जगाउनु र संदेश दिनु थियो र पूरा पनि भयो।

त्यसमा सम्बद्ध सम्पुर्णलाई हामी हृदय देखि सम्मान ब्यक्त गर्दछौ।  तपाईहरुले हामीलाई www.worldrecordholdersociety.com मा पनि हेर्न र सल्लाह सुझाब दिन सक्नु हुन्छ। हामी तपाईहरुको सल्लाह सुझाबलाई समेटेर अगाडि बढ्ने छु/छौ। हामी हाम्रो मातृभुमी देश नेपालको लागि हाम्रो जीवन समर्पण गर्न चाहान्छौ। सम्पुर्ण नेपालीहरुको साथ सहयोग हाम्रो आजको आवस्यकता हो।

प्रतिक्रिया