Pura Samachar
  • आफैंलाई भिडले कुटेको भिडियो हेरेपछि झन् तर्सिएँ

    प्रकाशित: ३ हप्ता पहिले

    आफैंलाई भिडले कुटेको भिडियो हेरेपछि झन् तर्सिएँ

    काठमाडौं । भिडले न देख्छ न सुन्छ । त्यस्तो भिडको आक्रोशमा परेको एक्लो व्यक्तिले कस्तो अवस्था भोग्नुपर्ला ! भदौ १८ मा ललितपुरको पुल्चोकमा देखियो ।

    सामाजिक सञ्जालमा भाइरल बनेको सो भिडियोमा एक्कासी बाइक स्टार्ट गरेर जान लागेका ट्राफिक प्रहरी जवानलाई भिडले छोप्यो । उनीमाथि निर्ममतापूर्वक प्रहार भयो । भाग्न सफल भएका उनलाई फेरि अर्को भिडले कुट्यो । केही उनलाई बचाउन खोज्दै थिए भने बढीजसो लात्तैलात्ताले हान्नमा तल्लिन थिए । भिडियोमा भिडले ‘हान हान’ र ‘भाग भाग’ मात्र बोलेको सुनिन्छ ।

    भिड नियन्त्रणमा खटिएका अन्य प्रहरी आएपछि मात्रै ती जवान बचेका थिए ।

    भिडको निर्मम अत्याचारमा परेका प्रहरी जवान ३० वर्षीय कमल घिमिरे हुन् । सिन्धुलीका घिमिरे ०६७ देखि प्रहरी सेवामा कार्यरत छन् । गत मंसिरदेखि ट्राफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत उनी सधैँझै त्यसदिन पनि बिहानै कार्यालय पुगे । ट्राफिक प्रहरी भएकाले उनको काम कार्यालय र फिल्ड दुवैमा पर्थ्यो । जात्राको त्यसदिन सम्झिँदै उनले भने, “रथ तान्नेबारे गुठीको मिटिङ बसिरहेको सूचना हामीले बिहानै पाएका थियौँ । त्यसैले सवारी डाइभर्सनको लागि म र असईसा’प तयारी अवस्थामै थियौँ । कोरोनाका कारण कर्मचारी कम भएकाले युएन पार्क र सडक दुवैतर्फ हेर्नुपर्ने ड्युटी थियो ।”

    रातो मछिन्द्रनाथको रथ तान्न युवाहरुको भिड जम्मा भइसकेको खबर पाएपछि उनी र असई करिब सवा १ मा चोकमा पुगे । पुलचोकमा भिड देखेपछि त्यहाँ गाडी पठाउनुहुन्न भन्दै उनीहरुले गाडी नरदेवीतर्फ जाने बाटोमा पठाए । यस्तै, पाटनबाट आउने सवारीलाई मंगलबजार चोकतर्फ पठाए । सवारी डाइभर्सन गर्दै बसिरहेको बेला पुलचोकतिर पानीको फोहोरा, अश्रु ग्यास र लाठीचार्ज सुरु भयो ।

    “त्यसपछि हामी यहाँ बस्नुहुन्न भनेर असई र म त्यहाँबाट भाग्न तयार हुँदै थियौँ,” उनले भने ।

    घिमिरे बसेको साइडमा करिब २० जना चुपचाप उभिइरहेका थिए भने असइ उभिएको साइडमा करिब १० जना थिए । “असईसा’पलाई दुई–चार जनाले घेर्न थालेपछि म बाइक भएतिर दगुरेँ,” उनले भने, “सर भाग्न भ्याउनुभयो तर म बाइक स्टार्ट गर्नै लाग्दा फुटपाथमा उभिएकाबाट घेरिएँ । र लाठी खाएर आएको समूहले मलाई नै भेट्टायो । सबै मिलेर कुटे ।”

    घटनामा घिमिरेलाई अफिसले दिएको मोबाइलको डिस्प्ले बिग्रेको छ भने मोटरसाइकल पनि क्षतिग्रस्त भएको छ । ५ महिनादेखि गुठी संस्थान र प्रशासनको पटक पटकको अनिर्णयको बन्दीले रथ तान्न नपाएपछि स्थानीय आक्रोशित बनेका थिए ।

    उनीहरुले आक्रोशमा ढुंगामुढा मात्र गरेनन् । कोभिड १९ को कारणले भइरहेको निषेधाज्ञा तोडेर सामाजिक दूरी समेत कायम नराखी रथ तान्न युवा हौसिए । त्यसैलाई रोक्न प्रशासनले प्रहरीलाई खटाएको थियो । तर प्रहरीले भिड रोक्न सकेन । र घिमिरे त्यसै भिडको आक्रोशमा परे ।

    घिमिरे यसभन्दा अगाडि थुप्रैपटक भिड नियन्त्रणको लागि पुगेको सम्झन्छन् । भन्छन्, “प्रहरीको लागि भिड नियन्त्रण भनेको सानो कुरा हो । यस्तो गरिहनुपर्छ ।” तर उनी आफै चाहिँ पहिले कहिल्यै कुटपिटमा परेका थिएनन्, न त उनले भिड नियन्त्रणका बेला नागरिकलाई त्यसरी कुटेका थिए ।

    बाइक स्टार्ट गर्न लाग्दा ‘यसलाई पनि ठोक् ठोक्’ भनेपछि अगाडिको ब्रेक एक जनाले समातिदिएको घिमिरेलाई याद छ ।

    त्यसपछि उनले बाइक अगाडि बढाउन सकेनन् । एक्कासी ‘ठोक् ठोक्’ भन्दै बाइकको पछाडि लात्तीले हान्न थाले र पछि २–४ जनाले घेरेर कुटेकोसम्म आफूलाई स्मरण भएको उनी बताउँछन् ।  लगातार कुटाइ खाएपछि आफूलाई धेरै कुरा यादै नभएको उनको भनाइ छ ।

    ‘ठोक्, ठोक्, बजा, बजा, हान् हान्’ भनेको मात्रै आफूलाई याद रहेको उनले बताए ।

    “भिडियो हेरेपछि म आफै पनि निकै तर्सिएँ,” उनले भने, “घरमा श्रीमती र ७ वर्षका छोरा झनै आत्तिएछन् । अस्पतालाई मलाई भेटेपछि मात्रै उनीहरु ढुक्क भए ।”

    भिडियो हेरेर भेट्न आउने अरु पनि उस्तै तर्सिने गरेको उनले बताए । घटनापश्चात् करिब साढे २ बजे उनलाई अल्का अस्पताल पुर्‍याइएको थियो । शरीरमा त्यस्तो गम्भीर चोट केही नपाएपछि उनी भोलिपल्ट ५ बजे डिस्चार्ज भएका थिए ।

    तर शरीरमा निलडाम भने अझै रहेको उनले बताए । दिनकै ६ थरिका औषधि खाइरहेका छन् । उनले अहिले गर्धनमा चोट रहेको र अहिले शरीर विस्तारै निकै दुख्दै गएको बताए ।

    प्रहरीको तालिमले नै घिमिरेलाई भिडबाट जोगिन सिकाएको हो । तालिमका दौरान उनले कसरी छेक्ने र संवेदनशील अंग कसरी बचाउनेजस्ता ज्ञान पाएका थिए ।

    तर त्यसदिनको घटना सम्झदा अझै उनी अचम्म पर्छन् । अरुबेला बर्दीसँगै टोपी लगाउने उनले त्यसदिन टोपी लगाएनन् । “असई सा’पले टोपी किन नलगाएको भन्दा मैले हैन सर यस्तो भिडभाडमा म हेलमेट नै लगाउँछु, भनेर भनेको थिएँ,” उनले भने, हेलमेट नलगाएको भए म त्यो दिनमा बाँच्दिनथेँ होला । भिडियो हेरेपछि पनि थाहा भयो मलाई भगवानले नै बचाएका रहेछन् ।”

    प्रतिक्रिया