Pura Samachar

असार लागेसँगै निर्माण सामाग्रीको मूल्य घट्न थाल्यो

प्रकाशित: June 30, 2022
पूरा समाचार

असार लागेसँगै निर्माण सामाग्रीको मूल्य घट्न थाल्यो

काठमाडौं। असार लागेसँगै निर्माण सामाग्रीको मूल्य घट्न थालेको छ। बर्खामा निर्माण कार्य कम हुने भएकाले निर्माण सामाग्रीको माग घटेसँगै मूल्य पनि घट्न थालेको हो। भण्डारण गरेर लामो समय राख्न नमिल्ने सामाग्री, उद्योगहरुमा प्रतिस्पर्धा र कच्चा पदार्थको उपलब्धतामा पनि सहजता हुन थालेपछि इँटा, सिमेन्ट र डण्डीको मूल्य घटेको व्यवसायीहरुको भनाइ छ।

फागुनदेखि घटेको कारोबार अहिले पोहोरको तुलनामा २५–३० प्रतिशत मात्र भइरहेको नेपाल ईंटा उद्योग व्यवसायी महासंघले जनाएको छ।

अहिले स्टक रहेकै ईंटा बजारका लागि पर्याप्त रहेको रमागको कमिका कारण साना व्यवसायी पलायन नै हुने स्थिति रहेकाले क्रयशक्तिको कमि, तरलता अभावले गर्दा व्यवसायीले ईंटा उत्पादन घटाएको बताइएको छ। महासंघका अनुसार प्रतिगोटा २४–२५ रुपैयाँ हुनुपर्ने ईंटा अहिले १६–१७ रुपैयाँमा बेचिरहेका छन्।

अहिले गुणस्तर, आकार र उत्पादन प्रविधिअनुसार बजारमा ईंटाको मूल्य गोटाको १५ देखि १८ रुपैयाँसम्म रहेको छ। औसतमा अहिले एक नम्बर ईंटाको १६ रुपैयाँ र दुई नम्बरको साढे १५ रुपैयाँसम्म पर्छ। निर्माणको सिजनमा ईंटाको मूल्य २२ रुपैयाँ प्रति गोटा सम्म पुगेको थियो।

त्यसैगरी अघिल्लो वर्ष १४० रुपैयाँ प्रतिकेजी पुगेको फलामे डन्डी अहिले ९५ रुपैयाँमा झरेको छ। यसरी मूल्य घट्नु ठूलो क्षमताका स्टिल कम्पनीहरु थपिँदै जाँदा व्यवसायिक प्रतिस्पर्धा मुख्य कारण रहेको व्यवसायीहरु बताउँछन्।

अहिले अफ सिजन, बढ्दो उत्पादन र तरलता अभावले समग्र व्यवसायलाई नै असर गरेको छ। गत वर्षको समान अवधिको तुलनामा अहिले निर्माण सामाग्रीको कारोबार ५० प्रतिशतले घटेको व्यवसायीहरु बताउँछन्।

अहिले पोहोरभन्दा बोरामा १०० रुपैयाँसम्मले सिमेन्टको मूल्य घटेको छ। गतवर्ष ओपीसी सिमेन्ट बोरा (५० केजी) को ७६० देखि ८२० रुपैयाँसम्म रहेकोमा अहिले ६८० देखि ७३० रुपैयाँमा झरेको छ। यसैगरी पीपीसी सिमेन्ट बोरा (५० केजी) को ७५० सम्म पुगेकोमा अहिले ६३० को हाराहारी आइपुगेको व्यवसायीहरु बताउँछन।

प्रतिक्रिया