Pura Samachar

विकेटकिपर ऋषभ पन्तको सानदार आक्रामक ब्याटिङ भारत बलियो योगफल तर्फ

प्रकाशित: July 2, 2022
पूरा समाचार

विकेटकिपर ऋषभ पन्तको सानदार आक्रामक ब्याटिङ भारत बलियो योगफल तर्फ

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको सानदार आक्रामक ब्याटिङमा भारतले इंग्ल्यान्डसँगको पाँचौं टेस्ट खेलमा पहिलो इनिङमा बलियो योगफल बनाएको छ । बर्मिङ्घममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो दिनको समाप्तिमा ७३ ओभरमा ३३८(७ को बलियो अवस्थामा छ ।भारतका विकेटकिपर ऋषभ पन्तले १ सय ११ बलमा २० चौका र ४ छक्कासहित १ सय ४६ रनको सानदार शतकीय इनिङ खेले । पन्तको यो टेस्ट करिअरको पाँचौं शतक हो । पन्त जो रुटको बलमा एज लागेर फस्ट स्लिपमा ज्याक क्रलीबाट क्याच आउट भएका थिए ।

एक समय ९८–५ को खराब सुरुवात गरेको भारतलाई छैटौं विकेटका लागि रविन्द्र जडेजा र ऋषभ पन्तले २ सय २२ रनको दोहोरो शतकीय साझेदारी गर्दै बलियो अवस्थामा पुर्याएका थिए । जडेजा १ सय ६३ बलमा १० चौकासहित ८३ रनमा अविजित छन् । उनलाई मोहम्मद शामीले साथ दिनेछन् ।

तीव्र गतिका बलर जिमी एन्डरसनले ओपनर सुभमन गिललाई १७ र चेतेश्वर पुजारालाई १३ रनमा ज्याक क्रलीबाट क्याच गराए । हनुमा विहारीलाई युवा तीव्र गतिका बलर म्याथ्यु पट्सले २० रनमा एलबीडब्लू आउट गरे । भारतका प्रमुख ब्याटर विराट कोहली पट्सको बलमा ११ रनमा बोल्ड भएपछि इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको थियो ।

श्रेयस ऐर १५ रनमा क्याच भए । एन्डरसनको बलमा विकेटकिपर साम बिलिंग्सले एक हातले उत्कृष्ट क्याच लिएका थिए । तर त्यसपछि पन्त र जडेजाले भारतलाई खेलमा फर्काएका थिए । इंग्ल्यान्डका जिमी एन्डरसनले तीन, म्याथ्यु पट्सले दुई, बेन स्टोक्स र जो रुटले एक एक विकेट लिएका छन् ।

यस सिरिज गतवर्ष सेप्टेम्बरमा कोरोना कारण स्थगित भएको थियो । पाँच खेलको सिरिजमा भारत २–१ ले अघि छ । पहिलो खेल बराबरी हुँदा दोस्रो खेल भारतले १ सय ५१ रनले जितेको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड इनिङ अन्तरले ७६ रनले विजयी हुँदा चौथो खेलमा १ सय ५७ रनले पराजित भएको थियो ।

बर्मिङ्घममा भारतले हालसम्म टेस्ट खेलमा जित हात पारेको छैन । इंग्ल्यान्डमा २००७ पछि पहिलो टेस्ट सिरिज जित्ने लक्ष्यमा छ । २००७ मा भारतले तीन टेस्ट खेलको सिरिज १–० ले जितेको थियो । इंग्ल्यान्डमा भारतले हालसम्म तीन टेस्ट खेल पनि जित्न सकेको छैन ।

प्रतिक्रिया