काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ । प्रधानमन्त्री एव्म पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार लामो समयदेखि अवरुद्ध स्थायी कमिटी बैठक आज बस्न लागेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि बैठक सुरु हुने छ । गत सोमबार बिहान अध्यक्षद्वय ओली र प्रचण्डबीच गत साउन १३ गते स्थगित भएको बैठक भदौ २६ गते अर्थात आज (शुक्रबार) का लागि बोलाउने सहमति भएको थियो ।
स्थायी कमिटी बैठकका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गरिएको छ । स्थायी कमिटीमा पेश गर्नका लागि तयार पारिएको उक्त प्रस्तावमा एक महिनाभित्र पोलिटब्युरो गठन गर्ने उल्लेख छ ।
यस्तै पार्टी एकताका बाँकी रहेका कामहरु आगामी असोज महिनाभित्र सम्पन्न गर्ने, आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्दा निश्चित मापदण्ड तय गर्नुपर्ने प्रस्तावहरु तय गरिएका छन् ।
त्यसैगरी सरकार र अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पाेरेसनबीच भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता (एमसीसी) परिमार्जन र संशोधन गरेर पारित गर्नुपर्ने पनि स्थायी कमिटी बैठकका लागि प्रस्ताव तय गरिएको छ ।
पार्टीको आन्तरिक विवाद मिलाउन महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले बुझाएका प्रतिवेदनबारे भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो । गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भएर बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, आवश्यकता अनुसार मन्त्रिपरिषद् हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव समेटिएका थिए ।
नेकपामा आन्तरिक विवाद बढेपछि गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १७ गतेपछि बस्न सकेको थिएन । यो अवधिमा स्थायी कमिटी बैठक पटक–पटक गरी सात पल्ट स्थगित भइसकेको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच कुरा नमिलेका कारण स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।
प्रतिक्रिया