Pura Samachar

महामारीविरुद्धको अचुक अस्त्र मानिएको खोप परीक्षण रोकिनु कति सामान्य ?

प्रकाशित: September 11, 2020

महामारीविरुद्धको अचुक अस्त्र मानिएको खोप परीक्षण रोकिनु कति सामान्य ?

काठमाडौं । कोभिड-१९ को खोप बनाउने विश्वव्यापी दौडमा एस्ट्राजेनेका-अक्सफर्डको साझेदारी अग्रपङ्क्तिमा रहेको मानिन्छ । बेलायतमा एक सहभागी बिरामी परेपछि अन्तिम चरणमा पुगेको कोरोनाभाइरसविरुद्ध बनाइएको खोपको क्लिनिकल परीक्षण अहिलेका लागि रोकिएको छ ।

झट्ट सुन्दा यो समाचारले अलकति झस्काउन सक्छ । तर खोप विकासमा अक्सफर्ड यूनिभर्सिटीसँग साझेदारीमा रहेको औषधि कम्पनी एस्ट्राजेनेकाले यसलाई “नियमित” स्थगन भनी व्याख्या गरेको छ। उसले ती व्यक्तिमा प्रतिकूल असर देखिनुको कारण थाहा नभएको जनाएको छ ।

यो परीक्षणमा ब्रजिल, दक्षिण अफ्रिका, अमेरिका र यूकेका गरी झन्डै ३०,००० मानिस सहभागी छन् । कोभिड-१९ विरुद्ध उपचार खोज्ने विश्वव्यापी प्रतिस्पर्धामा एस्ट्राजेनेका-अक्सफर्डले विकास गरिरहेको खोप पनि अग्रपङ्क्तिमा छ ।

त्यसैले यसमा हुने कुनै पनि विलम्ब अलि निराशाजनक हुनेछ । स्ट्याट न्यूजमा मङ्गलवार छापिएको समाचारअनुसार यूकेमा खोप परीक्षणका क्रममा सहभागी एक व्यक्तिमा “गम्भीर असर परेको आशङ्का” र त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएपछि परीक्षण रोकिएको हो ।

उक्त विषयमा थप विवरण अझै थाहा हुनसकेको छैन तर स्ट्याट न्यूजले एउटा स्रोतलाई उद्धृत गर्दै ती बिरामी निको हुने ठानिएको जनाएको छ ।

एउटा विज्ञप्तिमा एस्ट्राजेनेकाले भनेको छ: “समीक्षा प्रक्रियाको हाम्रो मापदण्डले सुरक्षासम्बन्धी तथ्याङ्कको समीक्षाका लागि अनुमति दिन खोपको परीक्षण रोकेको छ ।”

बीबीसीका मेडिकल सम्पादक फेर्गुस वाल्शले यो प्रक्रियाका लागि “केही दिनहरू” लाग्न सक्ने बताएका छन् ।

परीक्षणका क्रममा कुनै पनि सहभागीमा गम्भीर असर देखिए सुरक्षासम्बन्धी तथ्याङ्कको समीक्षाका लागि परीक्षणको प्रक्रिया रोकिन्छ । वाल्शका अनुसार खोप परीक्षणको प्रक्रिया स्थगित गरिक पहिला नसुनिएको भने होइन ।

“कुनै पनि समयमा जब स्वयंसेवी अस्पतालमा भर्ना हुन्छ र उसको स्वास्थ्य समस्याको कारण तत्काल स्पष्ट हुँदैन तब अध्ययनलाई रोकिन्छ,” उनले भने । अक्सफर्ड यूनिभर्सिटीका प्रवक्ता भन्छन्: “ठूला परीक्षणहरूमा कुनै कारणले यदि बिमारी देखियो भने यसबारे राम्ररी जाँच्नका लागि एउटा स्वतन्त्र समीक्षा गरिनैपर्छ ।”

कोरोनाभाइरस खोपको परीक्षणमा यस्तो पहिलो पटक नभएको वाल्श बताउँछन् । गत एप्रिलमा सहभागीहरूलाई कोरोनाभाइरसविरुद्ध लड्ने क्षमता विकास गर्न पहिलो पटक खोप दिइएपछि कुनै सहभागीमा समस्या देखिएको यो दोस्रो अवसर हो ।

कोभिड-१९ को खोप विकास छिट्टै गर्नका लागि बनाइएको कार्यक्रमको जिम्मेवारीमा रहेका एक अमेरिकी अधिकारी मन्सेफ स्लावोईले अमेरिका र यूकेमा रहेका बाहिरका विज्ञहरूको टोलीले “कम्पनीको खोप परीक्षणमा सहभागीको विस्तृत समीक्षा गरिरहेको र कुनै पनि प्रतिकूल घटना देखाप र्दा यो नै मानक प्रक्रिया रहेको” बताए ।

प्रतिक्रिया