Pura Samachar

बाजुराको बुढिगंगा नगरपालिकामा भोलि हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा

प्रकाशित: July 6, 2022
पूरा समाचार

बाजुराको बुढिगंगा नगरपालिकामा भोलि हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा भोलि हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचन कार्यालय बाजुराका अनुसार कर्मचारीसहित सुरक्षाकर्मी आ–आफ्नो कार्यक्षेत्र रहेको मतदान स्थलमा पुगिसकेका छन् ।

यसअघि वैशाख–३०मा भएको निर्वाचनमा निर्वाचन  आयोगले धाँधली भएको भन्दै बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको थियो।

भाेलि बिहीवार हुने  मतदानका लागि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। बुढिगंगामा १ हजार  सुरक्षाकर्मी परिचालित गरिएको छ ।

दश वटा मतदान स्थल रहको यस पालिकामा हरेक मतदान स्थलमा  १ सय जना सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताउनुभयो ।

१० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको बुढिगंगामा पुन: मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको यस नगरपालिकाको कूल मतदाता सङ्ख्या १२ हजार ६ सय ५९  रहेको छ ।

दशवटै मतदान स्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीसमेत परिचालित भइसकेका छन् । मङ्गलवारदेखि उनीहरूले संयुक्त रुपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती  सुरु गरेका छन् ।

‘कसैले पनि मतदान गर्न पाइएन भन्ने अवस्था आउन दिन्नौँ,’ प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले भन्नुभयो । उहाँले पर्याप्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र  हरेक बुथमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको कमान्ड रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

नेपाली सेना पनि मतदान स्थल  नजिकै रहने प्रहरी कार्यालय बाजुराले जनाएको छ। मतदान स्थल रहेको विद्यालयमा एक साताअघिदेखि नै बिदा दिइएको छ भने मङ्गलवारदेखि तीन दिन नगरपालिकाका सबै विद्यालयहरू बन्द गरिएका छन् ।

बुढिगंगाको निर्वाचनमा १० वडाका वडाअध्यक्ष, सदस्यसहित नगर प्रमुखमा एमालेका राम बहादुर बानियाँ र काँग्रेसका रङ्ग खाती तथा उपप्रमुखमा एमालेबाट माया खड्का र काङ्ग्रेसबाट रिता शाही उम्मेदवार  रहनुभएकाे छ।

प्रतिक्रिया