Pura Samachar

न्युरोड टिम (एनआरटी) ले मैत्रीपूर्ण खेलमा फराकिलो हार

प्रकाशित: July 7, 2022
पूरा समाचार

न्युरोड टिम (एनआरटी) ले मैत्रीपूर्ण खेलमा फराकिलो हार

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले मैत्रीपूर्ण खेलमा अर्काे हार बेहोरेको छ । एनआरटी बिहीबार थाइल्यान्डको तेस्रो डिभिजनको कासिम बन्डित युनिभर्सिटी एफसीसँग ५–२ को भारी अन्तरले पराजित भएको हो ।

एनआरटीका लागि सन्जोक राई र स्टेफन विनोङ समिरले गोल गरे । एक समय २–२ गोलको बराबरीको स्थिति रहेको एनआरटीले त्यसपछि थप तीन गोल बेहोर्न पुगेको थियो ।

२३औं मिनेटमा सन्जोक राईको गोलबाट एनआरटीले सुरुवाती अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई जोगाउन नसक्दा एनआरटीले फराकिलो हार बेहोर्न पुग्यो ।

३२औं मिनेटमा चायासर्नले बराबरी गोल फर्काए । ४६औं मिनेटमा एथापोन कान नोले पेनाल्टी चुकाए । ४७औं मिनेटमा सुचोन साले गोल गर्दै कासिमलाई २–१ ले अघि बढाए । लगत्तै ४८औं मिनेटमा स्टेफनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

६४औं मिनेटमा सियुङ चान मनले तथा ८१औं मिनेटमा सुपाकृत पेटपनले गोल गर्दै कासिमलाई ४–२ ले अघि बढाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा थिरासकले गोल गर्दै एनआरटीलाई फराकिलो हार चखाए ।

अब एनआरटीले १० जुलाईमा चोनबुरी एफसी र १३ जुलाईमा थोनबुरी एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसपछि टोली स्वदेश फर्कनेछ ।

यसअघि एनआरटीले मलेसियामा भएको टुवान याङ टेरुतमा (टीवाईटी) कपमा दुवै खेलमा हार बेहोरेको थियो । इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ ले तथा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भएको थियो ।

प्रतिक्रिया