
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा कांग्रेस बैठक केन्द्रित हुनेछ।
चुनाव भएको करिब दुई महिना हुन लाग्दा कांग्रेसले बल्ल केन्द्रीय समितिमा चुनावी समीक्षा गर्न लागेको हो।
यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र उक्त समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा रहेको उपसमितिले स्थानीय तह चुनावको समीक्षा गरेको थियो।
कांग्रेसले ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो। गठबन्धन गरेका र एक्लै जितेका ठाउँ र मतबारे विश्लेषणसहित प्रतिवेदन पनि कांग्रेसले तयार पारेको छ।
चुनावी समीक्षाबाहेक केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष चयन गरिनुपर्ने, संसदीय समिति, कार्यसम्पादन समितिलाई पूर्णता दिनुपर्ने र विभागहरू तथा समितिहरू गठन गरिनुपर्ने एजेन्डा पनि प्रवेश हुने एक केन्द्रीय सदस्यले बताए।
सभापति शेरबहादुर देउवाले छ महिनाभित्र गरिसक्नुपर्ने मनोनीत काम अहिलेसम्म गरेका छैनन्। २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।
साथै भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका महाधिवेशन सुनिश्चित गर्नुपर्ने, नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने माग पनि उठेको छ। कांग्रेसले केही नयाँ भातृ तथा शुभेच्छुक संघसंस्थालाई मान्यता दिन लागेको छ। यसबारे पनि केन्द्रीय समितिमा छलफल गरी निर्णय लिने कांग्रेसले जनाएको छ।
सभापति देउवाले विभाग तथा भ्रातृ संघसंस्थाबारे आवश्यक निर्णय लिइने बताइरहेका छन्।
नेता शेखर कोइराला पक्षले सरकारका कामकारबाहीबारे पनि समीक्षा हुनुपर्ने बताएको छ। आइतबार कोइरालाको सचिवालयमा भएको पदाधिकारी तथा केन्द्रीय सदस्य भेलाले सरकारका कामकारबाहीबारे गम्भीर समीक्षा हुनुपर्ने र सभापतिले विधि र विधान अनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
केन्द्रीय समितिमा हुने अर्को छलफलको विषय आगामी संसदीय र प्रदेश सभा सदस्य निर्वाचनबारे हो। सम्भवत मंसिरमा हुने उक्त निर्वाचनका लागि गठबन्धनलाई सँगै लैजाने कि नलैजाने भन्ने विषयमा केन्द्रीय सदस्यहरूबाट धारणा लिने तयारीमा कांग्रेस छ।
प्रतिक्रिया