
एजेन्सी – मध्यक्रमका ब्याटर दीनेश चान्डिमलको दोहोरो शतक र स्पिनर प्रभात जयसूर्याको घातक बलिङको सहयोगमा श्रीलंकाले दोस्रो टेस्ट खेलमा अष्ट्रेलियालाई ३९ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै दुई टेस्ट खेलको सिरिज १(१ को बराबरीमा सकिएको छ ।
अष्ट्रेलिया दोस्रो इनिङमा ४१ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । अष्ट्रेलियाका मार्नस लाबुसेनले ५९ बलमा ३ चौकासहित सर्वाधिक ३२ रनमा आउट भए । ओपनर उस्मान खवाजाले २९ र डेविड वार्नरले २४ रन बनाए । एक समय अष्ट्रेलिया ५९(२ को अवस्थामा थियो । त्यसपछि लगातार विकेट गुमायो ।
मध्यक्रमका क्यामरन ग्रिनले २३, एलेक्स केरी र प्याट कमिन्सले १६-१६ रन बनाए । श्रीलंकाका डेब्यू खेल खेलेका स्पिनर प्रभात जयसूर्याले सर्वाधिक ६ विकेट लिए । महेश थिक्सेना र रमेश मेन्डिसले २-२ विकेट लिए ।
श्रीलंका चौथो दिन दोस्रो सेसनमा श्रीलंका ५ सय ५४ रनमा अल आउट भयो । श्रीलंकाका दीनेश चान्डिमल ३ सय २६ बलमा १६ चौका र ५ छक्कासहित २ सय ६ रनमा अविजित रहे । चान्डिमलले तीव्र गतिका बलर मिचेल स्टार्कलाई लगातार दुई छक्का हान्दै आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो दोहोरो शतक प्रहार गरेका थिए ।
श्रीलंकाका कुशल मेन्डिस १ सय ६१ बलमा ९ चौकासहित ८६ रनमा आउट भए । दोस्रो विकेटका लागि कप्तान दिमुथ करुणारत्ने र मेन्डिसले १ सय ५२ रनको शतकीय साझेदारी गरेपछि श्रीलंकाले बलियो सुरुवात गरेको थियो ।
करुणारत्ने १ सय ६५ बलमा १० चौकासहित ८६ रनमा मिचेल स्वीपसनको बलमा एलबीडब्लू आउट भए । ओपनर पाथुम निसंका ६ रनमा आउट भए । एन्जिलो म्याथ्युज ५२ रन र कामिन्दु मेन्डिस ६१ रनमा आउट भए । चौथो विकेटका लागि चान्डिमल र म्याथ्युजले ८३ रनको साझेदारी गरेका थिए ।
पाँचौं विकेटका लागि चान्डिमलले कामिन्दुसँग १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए । रमेश मेन्डिस २९ रनमा आउट भए । अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए । स्पिनर मिचेल स्वीपसनले तीन र नाथन लायनले दुई विकेट लिए ।
त्यसअघि गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलिया ३ सय ६४ रनमा अल आउट भयो । अष्ट्रेलियाका स्टिभ स्मिथ २ सय ७२ बलमा १६ चौकासहित १ सय ४५ रनमा अविजित रहे । स्मिथको यो टेस्ट करिअरको २८ औं शतक हो ।
स्मिथले १८ महिनापछि पहिलो शतक प्रहार गरेका हुन् । मार्नस लाबुसेन १ सय ५६ बलमा १२ चौकासहित १ सय ४ रनमा आउट भए । लाबुसेनको यो टेस्ट करिअरको सातौं र घर बाहिर पहिलो शतक हो ।
ओपनर उस्मान खवाजा ७७ बलमा ४ चौकासहित ३७ रनमा आउट भए । डेविड वार्नर ५, ट्रविस हेड १२ र क्यामरन ग्रिन ४ रनमा आउट भए । तेस्रो विकेटका लागि लाबुसेन र स्मिथले १ सय ३४ रनको शतकीय साझेदारी गरेका थिए । विकेटकिपर एलेक्स केरी १६ रनमा अविजित छन् ।
श्रीलंकाका डेब्यू खेल खेलेका प्रभात जयसूर्याले सर्वाधिक ६ विकेट लिए । कसुन रजिथा र रमेश मेन्डिसले एक एक विकेट लिए । दुई टेस्ट खेलको सिरिजमा अष्ट्रेलिया १–० ले अघि छ । पहिलो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।
प्रतिक्रिया