काठमाडौं । काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गराइरहेका कोइरालाले बिहीबार बिहान भिडियो सन्देशमार्फत् स्वास्थ्य अवस्था सुधार भइरहेको जानकारी दिएका छन् ।
उनले पार्टीका नेता–कार्यकर्तासँग शुभचिन्तकहरुलाई चिन्तित नहुन आग्रह गर्दै भिडियो सन्देशमा भनेका छन्, “म कोभिड–१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु । तपाईंहरुले चिन्ता गर्नुपर्दैन । दुई–तीन दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु । यति नै भनौं भनेर तपाईं सम्पूर्णलाई आग्रह छ ।”
अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीका अनुसार महामन्त्री कोइरालालाई निमोनिया देखिएको छ । कोेभिड१९ को संक्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका कोइरालालाई ज्वरो आएपछि मंगलबार राति अस्पताल भर्ना गरिएको थियो ।
महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा. विश्वनाथ कोइरालाको नेतृत्वमा डा. सुवोधसागर ढकाल र डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । भदौ २३ गते महामन्त्री डा. कोइरालालाई कोरोना संक्रमण देखिएको थियो ।
प्रतिक्रिया