काठमाडौं– पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आफ्नो सोधपुछ र छानबिन सकेको छ ।
समितिका सचिव सुरेन्द्र अर्यालले आज बुधबार देखि प्रतिवेदन लेखनको काम सुरू हुने जानकारी दिनुभयो ।
सिसिटिभीमा फुटेजबाट बजेट सार्वजनिक हुने अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालय गए÷नगएको निश्चित नभएपछि समिति प्रतिवेदन लेखनको तयारीमा लागेको हो ।
‘आज ११ बजे समिति बैठक बस्छ । प्रतिवेदन लेखनका क्रममा केही छलफल हुन सक्छ। अनुसन्धान र सोधपुछ अब सकियो,’ सचिव अर्यालले भन्नुभयो ।
यसअघि समितिले अर्थ मन्त्रालयका कर्मचारी, अर्थ सचिव र पूर्वमन्त्री शर्मालगायत व्यक्तिसँग सोधपुछ गरेको थियो ।
जेठ १४ गतेको सिसिटिभी फुटेज माग्दा अर्थले १३ दिनको मात्रै स्टोरेज क्षमता भएकाले त्यो दिनको भिडिओ नभएको जवाफ दिएको थियो ।
समितिले मन्त्रालयको सिसिटिभीको रेकर्ड नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा दिएको थियो ।
प्रयोगशालाले रिकभर गरेर दिएको विवरणमा भिडिओ प्रष्ट देखिएको थिएन । सिसिटिभी फुटेज प्रष्ट नभएपछि समितिले फरेन्सिक विज्ञसँग मंगलबार सोधपुछ गरेको थियो ।
समिति सदस्यहरूले भिडिओको गुणस्तर किन कमजोर भएको हो ? मिति पनि प्रष्ट नहुनुको कारण के हो ? भनेर सोधेका थिए ।
समितिमा आएका दुई जना विज्ञहरूले धेरै डिभाइसमा ट्रान्सफर गरेर चेक गर्दा फुटेजको गुणस्तर घटेको जवाफ दिएका थिए ।
विज्ञहरूले यस्तो जवाफ दिएपछि समिति प्रतिवेदन लेखनमा लागेको हो ।
यसअघि प्रयोगशालाले बुझाएको सिसिटिभी फुटेजको विवरण मंगलबार बिहान खोलिएको थियो । बजेट सार्वजनिक हुनु अघिल्लो दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वको दर हेरफेर गरेको आरोप लागेको छ । साउन ५ मा समिति समक्ष बयान दिँदै उहाँले उक्त आरोप अस्वीकार गर्नुभएको छ ।
प्रतिक्रिया