
काठमाडौं। साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समूह चरणको तेस्रो दिन दुई खेल हुँदैछ । आज नेपाली टोली विश्राममा रहँदा अन्य ४ टोली प्रतिस्पर्धामा रहनेछन् । नेपाल नखेलेपनि आजको खेलको नतिजाले नेपालको फाइनल पुग्ने समिकरण केही प्रष्ट हुनेछ ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा पहिलो खेल भारत र श्रीलंकाबीच हुनेछ । खेल नेपाली समयअनुसार साँझ ४:१५ बजे सुरु हुनेछ । दिनको दोस्रो खेलमा माल्दिभ्स र बंगलादेश भिड्नेछन् । उक्त खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।
आजको खेलमा भारत पराजित भएको अवस्थामा नेपालले अर्को खेलमा भारतलाई बराबरी रोकेपनि साविक विजेता भारत समूह चरणबाट बाहिरिनेछ । भारतलाई फाइनल पुग्ने सम्भावना जीवित राख्न आजको खेलमा हार टार्नुपर्ने हुन्छ । आज बंगलादेशसँग पनि फाइनलको सम्भावना बलियो पार्न अवसर छ । आजको खेलमा जित हासिल गरे बंगलादेश अन्तिम दिन नेपालविरुद्ध खेल्नुअघि फाइनल पुग्ने सम्भावना रहन्छ । त्यसका लागि अन्य खेलको नतिजा भने कुर्नुपर्ने हुन्छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) क्षेत्रका ५ टोली सहभागी प्रतियोगितामा सबै टोलीले एक अर्कासँग समूह चरणमा खेल्नेछन् । समूहका शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल अगस्ट ५ तारिखमा हुनेछ ।
हालसम्म नेपाल र बंगलादेशले खेलेका दुवै खेल जित्दै फाइनल पुग्ने बलियो सम्भावना बनाएका छन् । साविक विजेता तथा आयोजक भारत, माल्दिभ्स र श्रीलंका भने अंकविहिन छन् । भारत र माल्दिभ्सले अहिलेसम्म एक-एक खेल मात्र खेलेका छन् ।
बुधबार भएको पहिलो खेलमा भारत बंगलादेशसँग २-१ ले पराजित भएको थियो । त्यसअघि सोमबार बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४-० र आज बुधबार भएको खेलमा श्रीलंकालाई ३-० ले हराएको थियो ।
प्रतियोगिताको समिकरण हेर्दा अब भारत फाइनल पुग्ने वा नपुग्ने छिनोफानो नेपालकै हातमा रहेको छ । नेपालले समूह चरणको अर्को खेलमा ३१ जुलाईमा भारतको सामना गर्नेछ । उक्त खेलमा भारतलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ । यो मात्र होइन नेपालको जितले भारतको फाइनल पुग्ने सम्भावना पनि बन्द हुनसक्छ । कारण अन्य २ खेलमा भारतले समान ६ अंक जोडेपनि हेड टु हेडमा बंगलादेश अगाडि छ ।
नेपाल र भारतको खेल बराबरी भएको अवस्थामा भने नेपाल फाइनल पुग्ने सम्भावना बलियो बन्नेछ । त्यसो भएको खण्डमा भारतले आफ्नो र अन्य टोलीको अर्को नतिजा कुर्नुपर्ने हुन्छ । नेपाल वा बंगलादेशले अर्को खेल जितेमा भारतको फाइनल पुग्ने सम्भावना सकिनेछ ।
भारतले नेपाललाई पराजित गरेको अवस्थामा भने नेपाल र बंगलादेशको खेल सेमिफाइनल सरहको हुनेछ । फाइनल समिकरणका लागि अन्य खेलको नतिजा पनि हेर्नुपर्ने हुन्छ ।
अहिलेको स्थितिमा नेपालको २ खेलबाट ६ अंकसाथ अंक तालिकाको शीर्षस्थानमा छ । दोस्रो स्थानको बंगलादेशको पनि ६ अंक रहेको छ । गोलअन्तरमा नेपालले बंगलादेशलाई पछि पारेको हो । भारत, माल्दिभ्स र श्रीलंकाले भने अंकको खाता खोलेका छैनन् । लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले अब ३१ जुलाईमा भारतको सामना गर्नेछ । नेपालको बंगलादेशसँग खेल २ अगस्टमा छ । फाइनल ५ अगस्टमा हुनेछ ।
प्रतिक्रिया