
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक स्थगित बैठक यसै महिनाको अन्त्यमा बस्ने एन्फाले जनाएको छ ।
यसअघि पहिलो पटक साउन २ गतेलाई बोलाइएको बैठक अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ हुँदा स्थगित भएको थियो ।त्यसपछि साउन ५ मा बोलाइएको दोस्रो बैठक भने एजेण्डामा प्रवेश नगर्दै अध्यक्ष नेम्बाङले स्थगित गरेका थिए । बैठक तेस्रो पटकका लागि साउन २६ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा विहान १० बजेलाई तोकिएको छ ।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि अध्यक्ष नेम्बाङले बैठक स्थगित गरेका थिए । खड्का लगायत कार्यसमितिका १२ जनाले पहिलो बैठकबाट अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त भएका नविन पाँडेको बर्खास्ती माग गर्दै निवेदन हालेका थिए । दोस्रो बैठकमा अनुपस्थित रहेका अर्का सदस्य रमेश व्यन्जनकार पनि बर्खास्त माग गर्नेमा थपिए । यससँगै कार्यसमितिमा हाल रहेका १९ मध्य १३ जनाले पाँडेको बर्खास्ती माग गरेका छन् ।
असार ६ गते निर्वाचित कार्यसमितिको असार ८ गते बसेकेको पहिलो बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गर्दा भने कार्यसमितिका १९ जनाले नै समर्थन गरेका थिए । सोही बैठकले किरण राईलाई एन्फा महासचिव र रविन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको थियो । एक महिना पनि नबित्दै कार्यसमितिका बहुमत पदाधिकारी र सदस्यहरु आफ्नै निर्णयविरुद्ध उभिएका थिए ।
दोस्रो कार्यसमिति बैठकमा विविधसहित १८ वटा एण्जेडामा छलफल गर्ने तय थियो । त्यसमा सबैभन्दा चासोको साथ एन्फा सहायक महासचिव र प्रवक्ताको नियुक्तीलाई लिएर हेरिएको थियो । विधानको व्यवस्था अनुसार केन्द्रिय समितिले ३ सहायक महासचिव, प्रमुख कार्यकारी अधिकृत (सिइओ), प्रवक्ता नियुक्त गर्न पाउने प्रावधान छ । ३ सहायक महासचिवका लागि ५ जना आकांक्षी देखिएपछि बैठक नै स्थगित भएको थियो ।
सुरुवातमा बैठकका लागि एन्फाले विविधसहित १२ वटा एजेण्डा तय गरेको थियो । त्यसमा उपाध्यक्ष केसी ५ र दीपक खतिवडाले एउटा एजेण्डा थप गर्न माग गरेपछि १८ एजेण्डा पुगेको थियो ।
एन्फामा २१ सदस्यीय एन्फा कार्यसमितिले पूर्णता पाइसकेको छैन । असार ६ गते भएको निर्वाचनबाट ६ पदाधिकारीसहित १९ जना निर्वाचित गरेको थियो । १३ खुला सदस्यका लागि भएको निर्वाचनमा ११ जनाले निर्वाचत भएका थिए । त्यसमध्ये २ सदस्य पदका लागि ४ जनाको मत बराबरी भएपछि विशेष साधारण सभाबाट निर्वाचित गर्ने एन्फाले जनाएको थियो ।
प्रतिक्रिया