Pura Samachar

जिम्बावेले तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जित्यो

प्रकाशित: August 8, 2022
पूरा समाचार

जिम्बावेले तीन ओडिआई खेलको सिरिज  एक खेल अगावै जित्यो

एजेन्सी – अलराउन्डर सिकन्दर राजाको लगातार दोस्रो सानदार शतकमा जिम्बावेले दोस्रो ओडिआई खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज जिम्बावेले एक खेल अगावै जितेको छ ।

जितको लागि २ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४७.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेका जितमा राजा १ सय २७ बलमा ८ चौका र ४ छक्कासहित १ सय १७ रनमा अविजित रहे ।

यसअघि पहिलो खेलमा जिम्बावेलाई ५ विकेटको जित दिलाउन राजाले १ सय ९ बलमा १ सय ३५ रनको अविजित शतकीय इनिङ खेलेका थिए । राजाको यो ओडिआई करिअरको पाँचौं शतक हो ।

त्यस्तै कप्तान रेजिस चकभाले ७५ बलमा १० चौका र २ छक्कासहित १ सय २ रनमा आउट भए । उनको यो पहिलो ओडिआई शतक हो । जिम्बावेको सुरुवात भने राम्रो थिएन ।

एक समय ४९-४ को अवस्थामा पुगेको जिम्बावेलाई पाँचौं विकेटका लागि राजा र चकभाले २ सय १ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै जित दिलाए । बंगलादेशका हसन महम्मद र मेहदी हसन मिराजले दुई दुई विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । बंगलादेशका महमुदूल्लाह रियादले ८४ बलमा ३ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे ।

कप्तान तमिम इकबालले ४५ बलमा १० चौका र १ छक्कासहित ५० रनमा आउट भए । नाज्मुल शान्टो ३८, अनुमल हक २०, मुश्फिकुर रहिम २५, अफिफ हुसैन ४१ र मेहदी हसन मिराज १५ रनमा आउट भए ।

जिम्बावेका सिकन्दर राजाले १० ओभरमा ५६ रन खर्चेर तीन विकेट लिए । वेस्ली मेधर्वेले दुई विकेट लिए । तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।

प्रतिक्रिया