
वेस्ट इण्डिजविरुद्धको टी–२० सिरिजको अन्तिम तथा पाँचौँ खेलमा भारत ८८ रनले विजयी भएको छ । योसँगै भारतले सिरिज ४–१ ले जितेको छ । वेष्ट इण्डिजले भने सिरिजमा निकै खराब प्रदर्शन गर्यो । उसले पाँचमध्ये एक खेल मात्र जित्न सक्यो ।
सिरिजको पाँचौँ खेलमा भारतले दिएको १८९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १५.४ ओभरमा सबै विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो । उसका लागि शिमरोन हेटमायरबाहेक अन्यको प्रदर्शन फिक्का रह्यो । ३५ बलको सामना गरेका उनले चार छक्का र पाँच चौकासहित ५६ रन बनाए ।
त्यस्तै, शामराह ब्रुक्सले १३ र डेभन थोमसले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । वेष्ट इण्डिजलाई सस्तैमा समेट्नमा रवि विश्नोईले चार, कुलदीप यादव र अक्षर पटेलले तीन/तीन विकेट लिए । त्यसअघि अमेरिकाको लाउडरहिलस्थित टर्फ मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो । उसका लागि श्रेयस अय्यरले उत्कृष्ट पारी खेले ।
४० बलको सामना गरेका उनले आठ चौका र दुई छक्कासहित ६४ रन बनाए । अय्यरको यो सातौँ अर्धशतकीय पारी हो । त्यस्तै, दीपक हूडाले ३८, कप्तान हार्दिक पाण्ड्याले २८, सञ्जु सामसनले १५, दिनेश कार्तिकले १२ र इशान किशनले ११ रन जोडे । वेष्ट इण्डिजका लागि ओडेन स्मिथले तीन, हेडनवाल्स जुनियर डोमेनिक ड्रिक्स र जेसन होल्डरले एक/एक विकेट लिए ।
सिरिजको पाँचौं खेलमा भारतीय टोलीको कप्तानी हार्दिक पाण्ड्याले गरे । रोहित शर्माले विश्राम लिएपछि हार्दिकलाई कप्तानी दिइएको हो । अघिल्लो खेलमा भारत ५९ रनले विजयी भएको थियो । त्यस्तै, तेस्रो खेलमा ऊ ७ विकेटले विजयी भयो । दोस्रो खेलमा भने भारत ६ विकेटले पराजित हुन पुग्यो । पहिलो खेलमा ऊ ६८ रनले विजयी भएको थियो ।
प्रतिक्रिया