Pura Samachar

नेपाली काँग्रेसका शीर्ष नेताको बैठकमा स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने

प्रकाशित: August 8, 2022
पूरा समाचार

नेपाली काँग्रेसका शीर्ष नेताको बैठकमा स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने

नेपाली काँग्रेसका शीर्ष नेताको बैठकमा स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने आवाज उठेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा गठबन्धनमा तालमेल गर्दा स्वाभाविक ढङ्गले सिट बाँडफाँट गर्नुपर्नेमा कुरा उठेको हो ।

माओवादी केन्द्र एकीकृत समाजवादी, जसपा र जनमोर्चाले अस्वाभाविक माग राख्दा मत ट्रान्सफर गराउन गाह्रो हुने काँग्रेस नेताहरूको भनाइ थियो । बैठकमा भएको छलफलबारे ती नेताले भने, ‘जहाँ स्वाभाविक छ । त्यो ठाउँमा मत ट्रान्सफर गराउन पनि सजिलो हुन्छ ।’ सहमहामन्त्री किशोर राठौर, उमाकान्त चौधरी, महेन्द्र यादव लगायतले दुई वटा कुरामा ध्यान दिनुपर्ने बताएका थिए ।

‘गठबन्धन जोगाउनु पनि पर्नेछ । साथै सिटको तालमेल गर्दा स्वाभाविक खालको बनाउनुपर्छ,’ नेताहरूले भनेका थिए, ‘त्यसो गर्दा तलको साथीहरूले स्वीकार गर्छन् । अस्वाभाविक गर्दा स्वाभाविक हुने नेताहरूको भनाइ छ । तर बैठकमा सहभागी एक नेताका अनुसार आज माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको कुरा सुनेर मात्र आफ्नो प्रस्ताव राख्ने बैठकले निष्कर्ष निकालेको छ ।

यस्तै बैठकमा नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई गठबन्धनमा सामेल गराउँदा राम्रो हुने बताएका थिए ।  ‘लोसपालाई पनि गठबन्धनमा ल्याउँदा राम्रो हुन्छ । मधेसमा एमाले र लोसपाको गठबन्धन रोक्न पनि हामीले उदार हुनुपर्छ,’ उनले बैठकमा भनेका थिए । ​आज गठबन्धन सम्बद्ध बाँकी दलको कुरा सुनेर फेरि बस्ने गरी बैठक सकिएको छ ।

आज दिउँसो ३ बजे आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदलको बैठक बस्दै छ । बैठकमा गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल हुने छ । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको तयारी छ ।

कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३०  निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा  काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।प्रदेशमा पनि कर्णाली बाहेकमा काँग्रेसले एकल बहुमत आउने गरी दाबी प्रस्तुत गरेको छ। एक्लै बहुमत नजिक पुग्ने काँग्रेसको दाउ र आफ्नो समर्थन बिना बहुमतमा जान नदिने माओवादी र समाजवादीको रणनीति देखिन्छ ।

प्रतिक्रिया