Pura Samachar

अमेरिकाकाे युएईमाथि एक विकेटको रोमान्चक जित हात

प्रकाशित: August 12, 2022
पूरा समाचार

अमेरिकाकाे युएईमाथि एक विकेटको रोमान्चक जित हात

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा युएईमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ ।जितको लागि २ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकालाई जितको लागि अन्तिम ओभरमा दुई रन चाहिँएको थियो । वासिल हमिदलाई गजानन्द सिंहले पहिलो बलमै चौका प्रहार गर्दै दुई महत्वपूर्ण अंक पक्का गराए ।

अमेरिकाका कप्तान मोनांक पटेलले ९८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ८५ रन बनाए । आरोन जोन्सले ६७ बलमा ४ चौकासहित ५१ रन बनाए । ओपनर स्टिभन टेलर २९, सुशान्त मोदानी १२, ईयान होल्यान्ड ३० र गजानन्द सिंह २६ रन बनाए । युएईका तीव्र गतिका बलर जुनैद सिद्दिक र स्पिनर रोहन मुस्तफाले दुई दुई विकेट लिए ।

त्यसअघि एबरडीनमा टस जितेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५३ रन बनाएको थियो । युएईका यू१९ कप्तान समेत रहेका अर्यान लाक्राले डेब्यू खेलमै १ सय १२ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ८४ रन बनाए । तर रन आउट हुँदा डेब्यू शतकको अवसर गुमाएका थिए ।

विकेटकिपर वृत्य अरविन्दले ५ बलमा ३ चौका र १ छक्कासहित ५३ रन बनाए । सिपी रिजवान २ बलमा ३ चौका र १ छक्कासहित ३९, हमिद २५ र जवार फरिद १६ रनमा आउट भए । अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक तीन विकेट लिए ।

युएई २४ खेलमा १२ खेलमा जित र १० मा हारका साथ तेस्रो स्थानमा छ । अमेरिका २५ खेलमा समान १२ मा जित र १२ मा हारका साथ २५ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल भने २० खेलमा ८ मा जित र ११ मा हारका साथ छैटौं स्थानमा छ । ओमान ३६ खेलमा ४४ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड २५ खेलमा १७ जितका साथ ३६ अंक जोड्दै दोस्रो स्थानमा छ ।

प्रतिक्रिया