प्रिमियर लिगमा ब्रेन्टफोर्डले सानदार जित निकालेको छ। सिजनको दोस्रो खेलमा थोमस फ्र्यान्कको टोलीले एरिक टेन हागको म्यान्चेस्टर युनाइटेडलाई ४-० गोलले हराएको हो।
घरेलु मैदानमा ब्रेन्टफोर्डले सम्पूर्ण ४ गोल पहिलो हाफमा गर्यो। खेलको दसौं मिनेटमा जोसुआ डासिल्भाले खेलको पहिलो गोल गरे। उनले बक्स बाहिरबाट गरेको प्रहार सहज भएपनि गोलरक्षक डे हेयाले ठम्याउन नसक्दा युनाइटेड पछि परेको थियो।
१८अौं मिनेटमा युनाइटेडको बक्सभित्र एरिक्सनबाट बल खोस्दै म्याथियास ज्यान्सनले घरेलु टोलीको अग्रता दोब्बर बनाए। ३०अौं मिनेटमा आइभान टोनीको फ्लिक हेडरलाई नियर पोस्टमा हेड गर्दै बेन मिले तेस्रो गोल गरे।
लगत्तै ३५अौं मिनेटमा टोनिकै उत्कृष्ट पासलाई नियन्त्रणमा लिएर ब्रायन एम्बेउमोले उत्कृष्ट फिनिस गरेपछि युनाइटेडले प्रिमियर लिगको इतिहासमा पहिलोपटक अवे खेलमा पहिलो हाफमा ४ गोल बेहोरेको इतिहास कोरेको थियो।
यस् जितसँगै ब्रेन्टफोर्डले २ खेलबाट ४ अंक बटुलेको छ। यता दुई खेलमा शतप्रतिशत हार बेहोरेको युनाइटेडको भने शुन्य अंक छ।
प्रतिक्रिया