
काठमाडौं महानगरपालिकाले शनिवारदेखि बञ्चरे डाँडामा फोहोर लैजान थालेको छ । विगत केही दिनदेखि काठमाडौंमा थुप्रिएर रहेको फोहोरलाई बञ्चरे डाँडामा लैजान शुरू गरेको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् । शनिवार मात्रै महानगरपालिकाले १ सय ८२ ट्रक फोहोर बञ्चरे डाँडामा लगिएको उनले जानकारी दिएका छन् । आइतवार (आज) देखि २५० देखि ३५० ट्रक गाडीले फोहोर बञ्चरे डाँडामा लैजाने तयारी भएको मेयर साहले जानकारी दिएका छन् । उनले अवरोध नभएमा अब फोहोर व्यवस्थापन हुने संकेत गरेका छन् । मेयर साहले काठमाडौंको ७५ गाडी र त्यतिनै मात्रामा अरू पालिकाहरूबाट पनि दैनिक फोहोर उत्सर्जन हुने भएकाले दैनिक रूपमा १५० गाडी फोहोरको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले फोहोर व्यवस्थापनको नियमित अवस्थामा पुग्न अझै केही समय लाग्ने जनाएका छन् ।
यसका लागि सबैको सहकार्य जरुरी रहेको मेयर साहको भनाइ छ ।
मेयर साहले सिसडोलको दुरावस्था बञ्चरे डाँडामा कुनै हालतमा नदोहोर्याउने बताएका छन् ।
उनले भनेका छन्,‘यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावस्था बञ्चरे डाँडामा दोहोर्याउने छैनौँ ।’
प्रतिक्रिया