
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुगेकी छन्।
आज बिहान ११ बजे अस्पताल पुगेर राष्ट्रपति भण्डारीले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकी हुन्।
राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए। राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
गिरिलाई घाँटीको क्यान्सर छ। उनी लामो समय भारतमा उपचार गराएर केही महिना अघि नेपाल फर्किएका थिए।
नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन ९ गते मेडिसिटीमा भर्ना गरिएको थियो। उनको उपचारमा डा. पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली संलग्न छ।
प्रतिक्रिया