Pura Samachar

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटका विषयमा कार्यदलको बैठक बस्दै

प्रकाशित: August 23, 2022
पूरा समाचार

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटका विषयमा  कार्यदलको बैठक बस्दै

काठमाडौँ । नजिकिँदै गरेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटका विषयमा निरन्तर छलफल जारी छ । आज मंगलबार पनि सोही विषयमाथि छलफल गर्न गठबन्धन कार्यदलको बैठक बस्ने भएको छ ।

आज मंगलबार सिट बाँडफाँटको भागबण्डा मिलाउन गठबन्धनबाट गठित कार्यदलको बैठक बस्न लागेको हो । यसअघि, हिजो सोमबार पनि कार्यदलको बैठक बसेकोमा ‘सहमति नजिक’ पुगेको भनिएको भए पनि निश्चित कुनै निष्कर्ष ननिस्किएका कारण आज पनि सोही विषयमाथि बैठक बस्न लागेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबारको बैठकबाट सिट बाँडफाँटबारे निष्कर्ष निस्किने विश्वास व्यक्त गरेका छन् । मन्त्री कार्कीका अनुसार सोमबारको बैठकमा सिट बाँडफाँटको आधारबारे छलफल भएको तथा निष्कर्ष नजिक पुगेको र आजको बैठकमा सहमति बनाई यस विषयलाई टुङ्गोमा पुर्याइनेछ ।

कार्यदलमा कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया