
काठमाडौं – सत्तारूढ गठबन्धन दलका शीर्ष नेता र सीट बाँडफाँट कार्यदलको संयुक्त बैठक सकिएको छ । बिहान नौ बजेबाट बसेको बैठक कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन निर्देशन गर्दै सकिएको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘आज फेरि कार्यदलमै जिम्मेवारी दिने शीर्षस्थ नेताबाट निर्देशन भएको छ,’ उनले भने, ‘कार्यदललाई १६५ नै निर्वाचन क्षेत्रको अवस्था कस्तो विस्तृत भनेर प्रतिवेदन पेस गर्ने जिम्मेवारी प्रदान भएको छ ।’ कार्यदलको बैठक पुनः ४ बजे बस्ने उनले बताए ।
आसन्न मंसिर ४ मा निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलहरुले गरे पनि सिट बाँडफाँट टुंगो लगाउन सकेका छैनन् ।
सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई साउन महिनाभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउन भनिए पनि कार्यदलले निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न सकेन । त्यसपछि भदौ पहिलो साताभित्रै काम सक्ने भनिए पनि त्यो समय पनि गुज्रिसकेकाले नेताहरु दबाबमा छन् ।
काँग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदलमा काँग्रेसबाट गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।
माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।
प्रतिक्रिया