
काठमाडौं। तीव्र गतिका बलर सोमपाल कामीको उत्कृष्ट बलिङमा घरेलु टोली केन्याले पहिलो टि२० आई खेलमा नेपाललाई १ सय ३१ रनको मध्यम लक्ष्य दिएको छ । नैरोबी स्थित जिमखान क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो । केन्याका विकेटकिपर इफरान करिमले ४४ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाए । लुकास अलुओच १३ बलमा ५ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।
तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर एलेक्स ओबान्डालाई ६ रनमा बोल्ड आउट गरे । एलेसले त्यसअघिको बलमा सोमपाललाई छक्का हानेका थिए । आदिल अन्सारीको छैटौं ओभरको अन्तिम बलमा कोलिन्स ओबुया मिडअफमा ज्ञानेन्द्र मल्लबाट १२ रनमा क्याच आउट भए । उनले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
रकिब पटेललाई सन्दीप लामिछानेले आठौं ओभरको दोस्रो बलमा ९ रनमा एलबीडब्लू आउट गरे । दीपेन्द्रसिंह ऐरीले नेल्सन ओधियाम्बोलाई १९ रनमा वैकिल्पक फिल्डर देव खनालबाट क्याच गराए । इफराम करिमलाई सन्दीपले नै कट एण्ड बोल्डको सिकार बनाए । १८ औं ओभरमा सन्दीपले दुई छक्का र एक चौकासहित कुल १७ रन खर्चिएका थिए ।
सचिन भुडिया १५ बलमा २ छक्कासहित १७ रनमा आउट भए । लगत्तै अर्को बलमा शेम न्योचेलाई आउट गरे । १९ औं ओभरमा सोमपालले दुई विकेट लिँदै मात्र एक रनमात्र खर्चिए ।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
प्रतिक्रिया