
एजेन्सी – टि२० एसिया कप २०२२ मा आज विश्व क्रिकेटका चर्चित दुई टोली भारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।समूह ए मा रहेका दुबै टोली विजयी सुरुवात गर्ने सोचमा छन् । गतवर्ष यसै मैदानमा टि२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । भारत र पाकिस्तानको खेल विश्व क्रिकेटमै सबैभन्दा बढी महत्वपूर्ण साथ हेर्ने गरिन्छ । आन्तरिक राजनीतिको कारण भारत र पाकिस्तानले सिरिज खेल्दैनन् । त्यसैले एसिया कप र विश्वकपमा मात्र यी दुई देशबीच प्रतिस्पर्धा हुने गर्दछ ।
गतवर्ष भारतलाई हराउन नायक बनेका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी भने चोटका कारण छैनन् । उनी नहुँदा तीव्र गतिको बलिङ आक्रामण केहि कमजोर बनेको छ । पाकिस्तानको तीव गतिको बलमा मोहम्मद हसैन, हसन अली, नसिम शाह, हरिस रौफ र शहनवाज दहानी रहेका छन् ।
कप्तान बाबर आजम र मोहम्मद रिजवान पाकिस्तानका प्रमुख खम्बा हुन् । यी दुई ब्याटरको प्रदर्शनले पाकिस्तानको नतिजामा धेरै प्रभाव पार्नेछ । बाबरले भने लगातार अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् ।
यी दुई ब्याटरको विकेट लिन सहज हुने छैन । तेस्रो नम्बरमा फखार जमान, चौथो नम्बरमा हैदर अली र पाँचौं नम्बरमा खुसदील शाह हुनेछन् । आसिफ अली विष्फोटक फिनिसर हुन् । तल्लोक्रममा सादब खान र इफ्तिखर अहमद रहनेछन् ।
यता रोहित शर्माको कप्तानीमा रहेको भारत सानदार सुरुवात गर्न चाहन्छ । गतवर्ष लज्जास्पद हारको बदला लिने सोचमा हुनेछ । भारतको ओपनिङ रोहित र लोकेश राहुलले गर्नेछन् । यी दुबै विश्वस्तरिय ब्याटर हुन् । तेस्रो नम्बरमा विराट कोहली हुनेछन् । कोहली खराब लयबाट गुज्रिएका छन् । उनी आफ्नो लय र आत्माविश्वास फर्खाउन चाहन्छन् ।
लयमा रहेका सूर्यकुमार यादव मध्यक्रममा प्रमुख हतियार हुन् । पाँचौं नम्बरमा हार्दिक पान्ड्या हुनेछन् । भारतले विकेटकिपर ऋषभ पन्त र दिनेश कार्तिक मध्य एकलाई मैदान उतार्नेछ । रविन्द्र जडेजा र युजभेन्द्र चहल स्पिन हतियार हुन् । तीव्र गतिका बलरमा भुवनेश्वर कुमार, अर्शदीपसिंह र आवेश खानलाई मैदान उतार्न सक्छ ।
भुवनेश्वर कुमारले राम्रो सुरुवात नदिदा भने भारत समस्यामा पर्नसक्छ । तीव्र गतिका बलर जस्प्रित बुमराह र हर्षल पटेल चोटका कारण बाहिरिएपछि तीव्र गतिको बलिङ आक्रामण कमजोर बनेको छ । दुबईको पिच तीव्र गतिका बलरलाई सहयोग बढी पुग्छ । टसले पनि धेरै प्रभाव पार्नेछ ।
हेड टु हेड :
यी दुई देशबीच टि२० आईमा ९ पटक प्रतिस्पर्धा भएको छ । भारत ७ पटक विजयी हुँदा दुई पटक पराजित भएको छ ।
पाकिस्तानको टोली :
बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), आसिफ अली, फखार जमान, हैदर अली, हरिस रौफ, इफ्तिखर अहमद, खुशदील शाह, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), हसन अली, नसिम शाह, मोहम्मद हसैन, शहनवाज दाहनी र उस्मान कादिर ।
भारतको टोली :
रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), दीपक हुडा, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रवि विश्रोई, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, युजभेन्द्र चहल, भुवनेश्वर कुमार, अर्शदीप सिंह र आवेश खान ।
प्रतिक्रिया