Pura Samachar

 भारत हङकङलाई हराउँदै टि२० एसिया कप २०२२ को सुपर फोरमा

प्रकाशित: September 1, 2022
पूरा समाचार

 भारत हङकङलाई हराउँदै टि२० एसिया कप २०२२ को सुपर फोरमा

एजेन्सी – भारतले हङकङलाई हराउँदै टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको छ । भारतले हङकङलाई ४० रनले हराउँदै समूह ए बाट अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।

जितको लागि १ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । हङकङका बाबार हयातले ३५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४१ रन बनाए ।

किन्चित शाहले २८ बलमा २ चौका र १ छक्कासहित ३०, अजिज खान १४, जिशान अली २६ र स्कट म्याककेचनी १६ रन बनाए । भारतका भुवनेश्वर कुमार, अर्शदीपसिंह, रविन्द्र जडेजा र आवेश खानले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । भारतका विराट कोहली ४४ बलमा १ चौका र ३ छक्कासहित ५९ रनमा अविजित रहे । सूर्यकुमार यादव २६ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ६८ रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि कोहली र सूर्यकुमारले ४२ बलमा ९८ रनको अविजित साझेदारी गरेका थिए । पहिलो विकेटका लागि रोहित शर्मा र लोकेश राहुलले ३१ बलमा ३८ रनको साझेदारी गरेका थिए ।

रोहित आयुष शुक्लाको बलमा अजिज खानबाट २१ रनमा क्याच आउट भए । रोहितले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि राहुल र कोहलीले ४९ बलमा ५६ रनको सुस्त सुरुवात गरेका थिए । राहुल ३९ बलमा २ छक्कासहित ३६ रनमा आउट भए ।

सूर्यले आक्रामक ब्याटिङ गर्दै इनिङ उकासेका थिए । सूर्यले अन्तिम ओभरमा हारुन अर्शदलाई चारछक्कासहित कुल २६ रन जोडेका थिए । सुस्त सुरुवात गरेपनि सूर्यकुमार यादवले विष्फोटक ब्याटिङ गर्दै भारतलाई विशाल योगफलमा पुर्याए । हङकङका आयुष शुक्ला र मोहम्मद गजानफरले एक एक विकेट लिए ।

समूह बी बाट अफगानिस्तान अपराजित रहँदै सुपर फोरमा पुगेको छ । समूह बी को अन्तिम खेलमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । विजेता टोली सुपर फोरमा स्थान बनाउनेछ । हङकङ र पाकिस्तानबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । विजेता टोली सुपर फोरमा पुग्नेछ ।

प्रतिक्रिया