Pura Samachar

नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिल्ने:राष्ट्रपति विद्यादेवी भण्डारी

प्रकाशित: September 3, 2022
पूरा समाचार

नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिल्ने:राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् ।

गौरा पर्व २०७९ का अवसरमा  दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी हुन् ।

गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएका घर फर्कने, विवाहिता महिला माइत जाने, गहुँ, केराउ, गहतलगायत पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरुडा’लाई प्रसादको रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेल्दै रमाइलो गर्ने प्रचलन रहेको छ’, सन्देशमा भनिएको छ, ‘यस पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सम्बन्ध प्रगाढ बनाउनुका साथै विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीबीचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने मलाई लागेको छ ।’

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् । सुदूरपश्चिम प्रदेशलगायतका क्षेत्रमा मनाइने गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले मौलिक चाडको संरक्षण र प्रवद्र्धनमा सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका हुन् ।

गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्ति तथा इष्ट र कुलदेवता खुसी हुने विश्वासका साथ मनाइने गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उनको विश्वास छ । उपराष्ट्रपति पुनले गौरा पर्वका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा राष्ट्रको निरन्तर समुन्नतिको शुभकामना व्यक्त गरेका छन् ।

गौरा पर्व र सो अवसरमा नाचिने देउडामा गाइने पौराणिक कथालगायत संस्कृतिले सुदूरपश्चिमलाई झनै सुन्दर बनाएको उल्लेख गर्दै उनले सुदूरपश्चिमको मात्रै नभई नेपालकै प्रमुख पहिचानका रूपमा रहेको गौरा पर्व, देउडा संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्न अपिल गरेका छन् ।

प्रतिक्रिया