
भाद्र १८, २०७९ । केन्या भ्रमणमा रहेको नेपालले घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीय क्रिकेटमा जितका लागि २ सय ३१ रनको लक्ष्य पेश गरेको छ । नेपालले ४९ दशमलव २ ओभरको खेल खेल्दै १० विकेटको क्षतिमा २ सय ३० रन बनाएको हो । नाईरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालका लागि सर्वाधिक रोहित पौडेलले ७८ रनको योगदान गरेका थिए ।
२१ दशमलव १ ओभरको खेल जारी रहँदा जम्मा २ रन बनाएका दिपेन्द्र सिंह ऐरी चौथो विकेटका रुपमा नेपालले गुमाएको हो । २५ रन बनाएका बासिर अहमद ३३ ओभरको खेल हुँदा केन्याली बलर रकेप पटेलबाट आउट भएका हुन् । पवन सराफ पनि २ रन बनाएर छैटौं विकेटका रुपमा आउट भए । आदिल अन्सारीले १४ रनको योगदान गर्दै सातौं विकेटको बाहिरिए । आठौं विकेटको रुपमा सोमपाल कामीले २६ रन बनाए ।
अर्धशतकको पारि खेलेका रोहित पौडेल ९ औं विकेटमा आउट भएका हुन् । अन्तिम समयमा ब्याटिङका लागि मैदान प्रवेश गरेका करण केसीले योगदान गरेसँगै नेपालले केन्यालाई जितका लागि २ सय ३१ रनको लक्ष्य पेश गरेको हो । यसअघि हिजो भएको पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।
प्रतिक्रिया