Pura Samachar

लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक

प्रकाशित: September 7, 2022
पूरा समाचार

लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक

काठमाडौं । श्रीलंकाले युएईमा जारी टि२० एसिया कप सुपर फोरमा भारतमाथि ६ विकेटको रोमान्चक जित हात पारेको छ । लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ । भारतको फाइनल पुग्ने सम्भावना अंक गणीतिय झिनो आशा मात्र बाँकी छ ।जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकालाई जितको लागि अन्तिम १२ बलमा २१ रन चाहिँएको थियो । भुवनेश्वर कुमारले १९ औं अ‍ोभरमा दुई चौकासहित १४ रन खर्चिएपछि भारतको जितको सम्भावना टाढिएको थियो ।

अन्तिम ६ बलमा श्रीलंकालाई ७ रन चाहिँएको थियो । अर्शदीपसिंहले पहिलो बल भानुका राजपक्षेलाई एक रन दिए । दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा दुई रन लिएपछि तीन बलमा तीन रन चाहिँएको थियो । चौथो बलमा एक रन खर्चिए । पाँचौं बल शनकाले मिस गरेपनि ऋषभ पन्तले स्टम्प ताक्नेक्रममा मिस गरेपछि श्रीलंकाले दुई रन लिदै जित पक्का गराए ।

श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले ३७ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा आउट भए । योसँगै श्रीलंका अनौपचारिक रुपमा फाइनलमा स्थान बनाएको छ । भारत भने सुपर फोरबाटनै बाहिरिने लगभग पक्कापक्की भएको छ ।
पाथुम निसंका ३७ बलमा ४ चौका र २ छक्कासहित ५२ रनमा आउट भए । चरिथ असलंका शून्यमा क्याच आउट भए ।

पहिलो विकेटका लागि ओपनर पाथुम निसंका र कुशल मेन्डिसले ११.१ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । निसंका स्पिनर युजभेन्द्र चहलको बलमा रिभर स्वीप खेल्ने धुनमा रोहित शर्माबाट क्याच आउट भए ।
दासुन शनका १८ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे । भानुका राजपक्षे १७ बलमा २ छक्कासहित २५ रनमा अविजित रहे । भारतका स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले ४१ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७२ रनमा आउट भए । सूर्यकुमार यादव २९ बलमा १ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तेस्रो विकेटका लागि सूर्य र रोहितले ५८ बलमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट पूनरागमन गराएका थिए । दोस्रो ओभरको पाँचौं बलमा स्पिनर महेश थिक्सनाले लोकेश राहुललाई ६ रनमा एलबीडब्लू आउट गरेका थिए ।

तीव्र गतिका बलर दिलशान मदुशनकाले तेस्रो ओभरको चौथो बलमा कोहलीलाई बोल्ड आउट गरे । कोहलीले यसअघि हङकङ र पाकिस्तानविरुद्ध लगातार अर्धशतक प्रहार गरेका थिए । कोहली चार बल खेलेपनि खाता खोल्न सकेनन् ।

रोहित चामिका करुणारत्नेको १३ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा डिप प्वाइन्टमा पाथुम निसंकाबाट क्याच भएका थिए । दाशुन शनकाको बलमा सूर्य थिक्सनाबाट क्याच भएका थिए । त्यसपछि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

हार्दिक पान्ड्या १३ बलमा १ छक्कासहित १७ रनमा आउट भए । ऋषभ पन्त १३ बलमा ३ चौकासहित १७ रनमा आउट भए । रविचन्द्रन आश्विन ७ बलमा १ छक्कासहित १५ रनमा अविजित रहे ।

तीव्र गतिका बलर दिलशान मदुशनकाले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । महेश थिक्सनाले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । चामिका करुणारत्नेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । दासुन शनकाले २ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । भारतले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । बुधबार अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

पाकिस्तानले शुक्रबार श्रीलंकासँग अन्तिम खेल खेल्नेछ । भारत फाइनल पुग्न पाकिस्तानले बाँकी दुबै खेल हार्नुपर्ने हुन्छ। अन्यथा एक खेल जितेको खण्डमा पनि भारत बाहिरिनेछ ।

भारतले अफगानिस्तानमाथि फराकिलो जित हात पार्नुपर्छ । यदि पाकिस्तानले दुबै खेल हारे र भारतले अफगानिस्तानलाई हराए तीन टोलीको समान २(२ अंक हुनेछ । नेटरनरेटमा माथि रहँदै भारत फाइनल खेल्न सक्ने झिनो सम्भावना देखिन्छ ।

प्रतिक्रिया