
एजेन्सी – युवा ब्याटर क्यामरन ग्रिन र विकेटकिपर एलेक्स केरीको शतकीय साझेदारीमा अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डमाथि दुई विकेटको उत्कृष्ट पूनरागमन जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ ।जितको लागि २ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ८ विकेट गुमाउँदै ४५ ओभरमा पूरा गर्यो । अष्ट्रेलिया युवा अलराउन्डर क्यामरन ग्रिन ९२ बलमा १० चौका र १ छक्कासहित ८९ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिए । उनको यो ओडिआई करिअरको उच्च प्रदर्शन हो ।
एलेक्स केरी ९९ बलमा ८ चौका र १ छक्कासहित ८५ रनमा आउट भए । एक समय १२ ओभरमा ४४-५ को अवस्थामा पुगेको अष्ट्रेलियालाई ग्रिन र केरीले छैटौं विकेटका १ सय ५८ रनको सानदार शतकीय साझेदारीका साथ जित दिलाएका थिए ।
ओपनर डेविड वार्नर २०, आरोन फिन्च ५, स्टिभ स्मिथ एक, मार्नस लाबुसेन डक र मार्कस स्टोइनिस ५ रनमा आउट भए । ग्लेन म्याक्सवेल २, मिचेल स्टार्क १ र एडम जाम्पाले १३ रन बनाए ।
न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले १० ओभरमा २ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । म्याट हेनरी र लोकी फर्गुसनले दुई दुई विकेट लिए ।
त्यसअघि केन्र्समा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो । न्युजिल्यान्डका केन विलियम्सनले ७१ बलमा ३ चौका र १ छक्कासहित ४५ रनमा आउट भए । डेभन कन्वेले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४६ रनमा आउट भए ।
एक समय न्युजिल्यान्ड २२.५ ओभरमा ९१–२ को अवस्थामा थियो । त्यसपछि भने लगातार विकेट गुमायो । विकेटकिपर टम लाथम ५७ बलमा २ चौका र १ छक्कासहित ४३, मार्टिन गुप्टिल ६, डर्याल मिचेल २६, माइकल ब्रेसवेल ७, जेम्श निसम १६ र मिचेल सान्टनार १३ रनमा आउट भए ।
अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । जोश हेजलवुडले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्क र एडम जाम्पाले एक एक विकेट लिए । सिरिज तीन खेलको हुनेछ । दोस्रो खेल बिहीबार र तेस्रो खेल आइतबार हुनेछ ।
प्रतिक्रिया