
काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने पीडित बालिकासहित होलमा छिरेको सिसिटिभी फुटेज भेटिएको छ ।
कप्तान लामिछाने र पीडित बालिका सिनामंगलको होटल इनमा छिरेको सिसिटिभी फुटेजमा स्पष्ट देखिएको नेपाल प्रहरीले बताएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौँले लामिछानेको घटनामा सुक्ष्म रूपमा अनुसन्धान थालेको बताएको हो ।
लामिछानेविरुद्ध प्रहरीमा जबरजस्तीकरणी कसुरमा उजुरी परेको छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी दायर भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले उल्लेख गरेको छ । परिसरका अनुसार यही भदौ ५ गते लामिछानेले पीडितलाई काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूमा लगी अन्दाजी १२ बजे राति पुनः काठमाडौँको एक होटलको कोठामा ल्याई जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
लामिछानेले होटलको ३०५ नं को कोठामा राखी भदौ ६ गते राति अन्दाजी १२ बजेर २५ मिनेट जाँदा पीडितलाई पटकपटक जबरजस्तीकरणी गरेको गौशालास्थित प्रहरी वृत्तमा दर्खास्त जाहेरीमा बताइएको परिसरले जनाएको छ । प्रहरीका अनुसार पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् घटनामाथि विभिन्न विधि र प्रविधिको प्रयोग गरी सुक्ष्म रूपमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । हालै नेपाल प्रहरीले लामिछाने र पीडित बालिका होटलमा छिरेको सिसिटिभी फुटेज फेला पारेको हो ।
थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया