
एजेन्सी – श्रीलंकाले युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरको अन्तिम खेलमा पाकिस्तानलाई पाँच विकेटले हराएको छ । योसँगै श्रीलंका सुपर फोरमा तीन खेलमा अपराजित रहँदै शीर्ष स्थानका साथ फाइनल खेल्ने भएको छ । पाकिस्तानले दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको छ ।जितको लागि १ सय २२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका ओपनर पाथुम निसंकाले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनमा अविजित रहे । निसंकाको यो लगातार दोस्रो अर्धशतक हो । भारतलाई हराउन निसंकाले ५२ रनको योगदान दिएका थिए ।
कुशल मेन्डिस र गुनाथिलका डक आउट भए । भानुका राजपक्षे १९ बलमा २ छक्कासहित २४ रनमा आउट भए । कप्तान दासुन शनका १६ बलमा १ चौका र २ छक्कासहित २१ रनमा आउट भए । धनन्जय डि सिल्भा ९ र वानिन्दु हसरंगाले १० रन बनाए ।
पाकिस्तानका मोहम्मद हसनैनले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । उस्मान कादिरले एक विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान १९.१ ओभरमा १ सय २१ रनमा अल आउट भयो । पाकिस्तानका बाबर आजमले २९ बलमा २ चौकासहित सर्वाधिक ३० रनमा आउट भए ।
ओपनर मोहम्मद रिजवान १४, फखार जमान र इफ्तिखर अहमद १३–१३ रनमा आउट भएको थियो । मोहम्मद नवाज १८ बलमा १ चौका र २ छक्का हाने ।
श्रीलंकाका वानिन्दु हसरंगाले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । मेहश थिक्सनाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । डेब्यू खेल खेलेका प्रमोद मदुशानले २.१ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।
आइतबार फाइनलमा उपाधिको लागि श्रीलंका र पाकिस्तानबीच नै प्रतिस्पर्धा हुनेछ । भारत र अफगानिस्तान भने सुपर फोरबाटै बाहिरिएका थिए ।
श्रीलंकाले सुपर फोरमा भारतलाई ६ विकेट र अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको थियो । पाकिस्तानले भारतलाई ५ विकेट र अफगानिस्तानलाई एक विकेटले हराएको थियो ।
प्रतिक्रिया