
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले वल्भ्सको सामना गर्दैछ ।खेल साँझ ५ः१५ बजेपछि हुनेछ । खेल मोलिन्यु स्टेडियम वल्भरह्याम्टनमा हुनेछ । घरेलु टोली वल्भ्सलाई हराउन सके सिटीलाई कम्तीमा एक दिनको लागि शीर्षस्थानमा उक्लने अवसर छ ।
शीर्षस्थानमा रहेको आर्सनलले आइतबार ब्रेन्टफर्डसँग खेल्दैछ । सिटीसँग उच्च लयमा रहेका गोल मेसिन नर्वेली एर्लिङ ब्राउट हालान्डको साथ रहेको छ । उनी नै वल्भ्सविरुद्ध मुख्य हतियार हुनेछ ।
यसै समरमा जर्मन क्लब डर्टमुन्ड छाडेर सिटी आएका २२ वर्षीय हालान्डले क्लबका लागि ९ खेलमा १३ गोल गरिसकेका छन् । उनलाई फिल फोडेन, बर्नाडो सिल्भा, इल्केए गुन्डोगान, रोड्री र केभिन डि ब्रुएनाले साथ दिनेछन् । यसबाहेक सिटीसँग रक्षापङ्तिमा सर्जियो गोमेज, म्यानुयल एकान्जी, रुवेन डियास, जोओ क्यान्सेलो र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।
यता, यो सिजन प्रिमियर लिगमा एक मात्र जित निकालेको वल्भ्स घरेलु मैदानमा सिटीलाई स्तब्ध पार्दै दोस्रो जितको लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग ड्यानियल पोडेन्स, गोन्कालो गुइडेस, पेड्रो नेटो, जोओ मौटिन्हो, रुवेन नेभेस, म्याथिअस नुनेस, नाथन कोलिन्स र जोस साको साथ रहेको छ ।
यि दुई टोलीको पछिल्लो १५ भेटमा सिटी ९ खेलमा विजयी भएको छ । वल्भ्सले ३ खेल आफ्नो पक्षमा पार्दा ३ खेल बराबरीमा सकिएको छ । सिटी पछिल्लो चार खेलमा वल्भ्ससँग अपराजित छ । त्यो भन्दा अघि २०१९ डिसेम्वरमा वल्भ्सले घरेलु मैदानमा ३–२ को रोमाञ्चक जित निकालेको थियो ।
सिटी पराजित वा बराबरीमा रोकिएको अवस्थामा टोटेनहमले जित निकाले टोटेनहम कम्तीमा एक दिनको लागि शीर्षस्थानमा उक्लने छ । टोटेनहमले घरेलु मैदानमा यो सिजन खराव लयमा रहेको लेस्टर सिटीसँग खेल्दैछ ।
आर्सनल १५ अंक जोडेर शीर्षस्थानमा रहँदा सिटी र टोटेनहमको समान १४ अंक छ । यस्तोमा सिटीले अंक गुमाएको अवस्थामा आँफुले सफलता हात पार्दा टोटेनहम शीर्षस्थानमा उक्लेछ । यस्तै न्युक्यासल युनाइटेडले घरेलु मैदानमा बर्नमाउथसँग खेल्दैछ ।
प्रतिक्रिया