कोरोना भाइरस कोभिड-१९ को नियन्त्रण तथा व्यवस्थापनमा भएको खर्च तीन दिनभित्रमा सार्वजनिक गर्न विप्लव नेतृत्वको नेपाल कम्युनिस्टले झापाका स्थानीय तहहरूलाई चेतावनी दिएको छ।
झापाका सबै स्थानीय तहलाई तीन दिने अल्टिमेटमसहित तत्काल खर्च सार्वजनिक नगरिए जनकारबाही गर्नेसमेत चेतावनीसमेत विप्लव माओवादीले दिएको छ।
आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा जिल्ला सेक्रेटरी श्रीजंगको हस्ताक्षर छ।
‘कोरोना व्यवस्थापनको विषय भ्रष्टाचार गर्ने माध्यम बन्न पुगेको छ। कोरोना उपचार तथा व्यवस्थापनमा भएको खर्चको हिसाब-किताब झापाका सबै स्थानीय तहले तीन दिनभित्रमा सार्वजनिक गरियोस्,’ भनिएको छ।
विज्ञप्तिमा पार्टीको निर्देशन बमोजिम तुरुन्त खर्च सार्वजनिक नगरे पार्टीको नेतृत्वमा जनताले कडा कारबाही गर्ने चेतावनी दिइएको छ।
विप्लव नेकपाले झापाका निजी तथा सामुदायिक शिक्षण संस्थाले अभिभावकलाई शुल्क तिर्न ताकेता गरेको दाबी गर्दै त्यसलाई रोक्न समेत विज्ञप्ति मार्फत अनुरोध गरेको छ।
निजी शिक्षण संस्थालाई जनप्रतिनिधिले साथ दिएर जनताको ढाड सेक्ने काम गरेको विप्लव माओवादीको दावी छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले कोरोना महामारीको समयमा पनि मध्यमवर्गीय व्यक्तिलाई किस्ता र ब्याजको ताकेता गरिरहेकाले त्यो तत्काल बन्द गर्न माग गरेको छ। नेकपा विप्लवले आफ्ना मागको विषयमा गम्भीर बन्न आग्रह गर्दै जनताको हितमा काम नगरे जनकारबाही गर्ने चेतावनी दिएको छ।
प्रतिक्रिया