
पाँच दलीय सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ । असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेको र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको समय रहेकाले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि हट्दै सहमतिनजिक पुगेका हुन् ।
कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयको चापका कारण मंगलबारसम्ममा सहमति गर्ने गृहकार्य भइरहेको बताए । ‘अब समय धेरै छैन, पार्टीभित्र उम्मेदवार चयनका लागि समेत समय चाहिने भएकाले गठबन्धनबीच मंगलबारसम्ममा सहमति जुटाउने गरी पहल भइरहेको छ,’ उनले भने, ‘अहिले प्रदेशसभाका ३ सय ३० क्षेत्रमा सहमतिनजिक पुगिरहेका छौं ।
प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका लागि ८० देखि ८५ क्षेत्रसम्म छुट्याउने समझदारी भएको छ । बैठकमा भने कांग्रेसले ९० सिटको अडान राखेको थियो । कांग्रेसलाई ९० सिट दिन गठबन्धनका अन्य दल तयार नभएपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ८४/८५ सिटमा झर्ने संकेत दिएका छन् ।
कांग्रेस र राष्ट्रिय जनमोर्चालाई छुट्याएर बाँकी सिटमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) बीच समझदारी बनाउने छुट्टै गृहकार्यसमेत जारी छ । तीन दलबीचमा सिट बाँडफाँटका लागि करिब सहमति जुटिसकेको माओवादीका एक नेताले बताए ।
‘एकीकृत समाजवादी र जसपाले अलि बढी दाबी गरेकाले केही समस्या भएको छ,’ ती नेताले भने, ‘प्रदेशसभाको सिटमा छलफल गर्दै जाँदा त्यसमा पनि सहमति बन्छ । त्यो भएन भने यो पनि हुन्न भन्ने किसिमले अड्किएका छन् । संघ र प्रदेश दुवैतर्फ सबै सिटमा समझदारी बनेपछि एकैचोटि सार्वजनिक गर्छौं ।’
माओवादी र एकीकृत समाजवादीबीच धेरै निर्वाचन क्षेत्रमा दाबी देखिएका छन् । माओवादीले करिब ४५ देखि ४७ सिटसम्म पाउने निश्चित छ । तीमध्ये दुई दर्जनभन्दा बढी निर्वाचन क्षेत्रमा सहमति बनिसकेको छ ।
अन्यमा दोहोरो र तेहरो दाबी रहे पनि शीर्ष तहमा करिब समझदारी बनेको छ । गठबन्धनमा सामेल कांग्रेसका एक नेताका अनुसार दुई–चार सिटमा कुरा नमिले पनि कांग्रेसले पाउने क्षेत्र करिब तय भइसकेको छ । संख्यामा माओवादी, नेकपा (एस) र जसपाबीच समेत करिब सहमति छ तर निर्वाचन क्षेत्रमा २५/३० स्थानमा विवाद कायम छ ।
मधेस प्रदेशका केही सिटमा कांग्रेस र जसपाबीच कुरा मिल्न बाँकी छ । संख्या बाँडफाँटमा भने करिब सहमति नै छ । मधेस प्रदेशमा कांग्रेसले १२, जसपाले १३, माओवादीले ५ र एकीकृत समाजवादीले २ सिट लिने गरी शीर्ष नेताहरूबीच सहमति बनेको छ ।
नेकपा (एस) र जसपाले १५ देखि १७ सिटसम्म पाउने भएका छन् । जसपाले मधेस प्रदेशमा १३ का अतिरिक्त सुनसरी–१ र बाँके–२ गरी १५ निर्वाचन क्षेत्र पाउने करिब निश्चित भइसकेको छ । मोरङ–५ र धनकुटामा पनि जसपाले अडान छाडेको छैन । सोलखुम्बु, लमजुङ, कैलाली २, ३, दोलखा, स्याङ्जा र मुगुमा पनि दोहोरो–तेहरो दाबी छ ।
२०७४ मा माओवादीले जितेको झापा–१ यस पटक कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पाउने भएका छन् । कांग्रेसलाई उक्त सिट छाड्दा झापाकै निर्वाचन क्षेत्र ३ र ४ मध्ये एक माओवादीलाई दिने तय भएको छ । मोरङ ४ र ५ मा पनि विवाद सुल्झेको छैन ।
मोरङ–४ मा कांग्रेस र माओवादीको, ५ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ । २०७४ को निर्वाचनमा मोरङ–४ र ५ माओवादीले जितेका आधारमा दुवै आफूहरूले पाउनुपर्ने अडान छ । यसमा चर्को विवाद देखिएको छ ।
मोरङ–४ मा महेश आचार्य, अमृत अर्याल, गुरु घिमिरेलगायत कांग्रेस नेता आकांक्षी छन् । उनीहरूको व्यवस्थापन गर्न मोरङ–४ कांग्रेस र ५ माओवादीले लिने गरी देउवा र दाहालबीच समझदारी बनिसकेको स्रोतले बतायो । जसपा र कांग्रेसबीच धनकुटा र सुनसरीको विवाद करिब हल भए पनि मधेस प्रदेशका धनुषा–३, महोत्तरी–४, सर्लाही–१ र बारा–३ मा विवाद छ ।
पर्सा–१ कांग्रेसले लिने भनिए पनि कुन निर्वाचन क्षेत्र भन्ने तय भएको छैन । माओवादी र जसपाबीच पनि धनुषा–१, महोत्तरी–१ र रौतहट–१ मा दोहोरो दाबी छ । माओवादी र एकीकृत समाजवादीबीच खोटाङ, उदयपुर, धादिङ–१, काठमाडौं–२, ललितपुर–३, मकवानपुर–२ र सल्यानमा दोहोरो दाबी छ । भक्तपुर–१ मा कसैको दाबी थिएन । समझदारी बनाउँदा उक्त निर्वाचन क्षेत्र कांग्रेसकै भागमा परेको छ ।
तनहुँमा पनि एक निर्वाचन क्षेत्र आफूहरूले पाउनुपर्ने माओवादीको दाबी छ । तनहुँ–१ कांग्रेस नेता रामचन्द्र पौडेलका लागि छाड्दा क्षेत्र २ आफूहरूले पाउनुपर्ने माओवादीले अडान लिइरहेको छ । डोटीमा कांग्रेस र एकीकृत समाजवादीबीचको विवाद सल्टिएको छैन ।
देउवाले पूर्वमन्त्रीसमेत रहेका नेता वीरबहादुर बलायरका लागि उक्त निर्वाचन क्षेत्र खोजेका छन् । एकीकृत समाजवादीले पनि पूर्वमन्त्री प्रेम आलेका लागि डोटी दिनुपर्ने अडान राख्दै आएको छ । बलायर र आलेको व्यवस्थापन दुवै पार्टीका लागि समस्या बनिरहेको नेताहरू बताउँछन् ।
‘धेरै विवाद देखिएका क्षेत्र अब निकै कम छन्, छलफल धेरै भइसकेको छ, शीर्ष नेताहरूले पनि मानसिकता बनाइसक्नुभएको छ, एक घण्टा बस्नासाथ सहमति बन्छ,’ कार्यदलका एक सदस्यले भने ।
माओवादीले यसअघि चुनाव जिते पनि कतिपय क्षेत्रमा साटफेरको प्रस्तावसमेत कांग्रेस सभापति देउवाले राखेका छन् । गोरखामा सुरेन्द्र पाण्डेका लागि क्षेत्र १ कांग्रेसले मागेको छ । गोरखा–१ बाट बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने माओवादीको अडान छ । त्यस्तै नुवाकोट–१ देउवाले प्रवक्ता प्रकाशशरण महतका लागि खोजेका छन् । यसअघि जितेकाले माओवादी उक्त क्षेत्र छाड्न तयार भएको छैन ।
राष्ट्रिय जनमोर्चालाई बागलुङ–१ र प्यूठानमा दुई सिट दिने तय भएको छ । २०७४ मा प्यूठानबाट जनमोर्चाकी नेत्री दुर्गा पौडेल निर्वाचित भएकी थिइन् । यस पटक अध्यक्ष चित्रबहादुर केसीले समेत निर्वाचन लड्ने इच्छा प्रकट गरेकाले प्रधानमन्त्री देउवाले बागलुङ–१ उनका लागि छाड्ने निर्णय लिएका हुन् । बागलुङका दुवै क्षेत्र संघमा कांग्रेसले उम्मेदवारी नपाउने भएको छ ।
प्रतिक्रिया