Pura Samachar

लगातार ओरालो लागिरहेको सेयर बजार मंगलबार १५.९२ अंकले बढेर १८३१.०५ बिन्दुमा

प्रकाशित: September 27, 2022
पूरा समाचार

लगातार ओरालो लागिरहेको सेयर बजार मंगलबार १५.९२ अंकले बढेर  १८३१.०५ बिन्दुमा

काठमाडौं- लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साताको दोस्रो कारोबारमा सुधार देखिएको छ। गएको साता ७१.३९ र यो साता आइतबार २३.८३ अंकले घटेको बजारमा मंगलबार सुधार देखिएको हो। मंगलबार १५.९२ अंकले बढेर बजार १८३१.०५ बिन्दुमा पुगेको छ। मंगलबार ६६ करोड १० लाख १३ हजार रुपैयाँको कारोबार भएको छ। १५२ कम्पनीको मूल्य बढ्दा २७ कम्पनीको मूल्य घटेको छ।

एक दिनको वृद्धिले बजारमा स्थायी सुधारको आधार भने देखिएको छैन। गएको साता पनि बजारमा एक दिनमात्र वृद्धि देखिएको थियो। गएको साता आइतबार ३३.९७ अंकले घटेको बजार मंगलबार ३८.८१ अंकले घटेको थियो। बुधबार ११.२२ अंकले बढेको बजार बिहीबार पुन: ९.८३ अंकले घटेको थियो।

तीन महिनाअघिको न्यून बिन्दु १८४८ बाट तल लागिरहेको बजारमा चाडबाडको अवस्थामा पनि अपेक्षाकृत वृद्धिको अवस्था देखिँदैन। लगातार घट्दो ट्रेन्डमा रहेको बजारले सुधारको बाटो समात्न अझै पनि समय लाग्ने विश्लेषकहरूको भनाइ छ। चाडबाडको समयमा सेयर बजारमा उत्साह देखिने अनुमान भइरहँदा बजारले उकालो यात्रा तय गर्न कठीन भइरहेको छ।

प्रतिक्रिया