Pura Samachar

दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिज भारत ८ विकेटले विजयी

प्रकाशित: September 29, 2022
पूरा समाचार

दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिज भारत ८ विकेटले विजयी

काठमाडौं ।

दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली भारत ८ विकेटले विजयी भएको छ । बुधबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको सामान्य लक्ष्य भारतले १६.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । उसका लागि सूर्यकुमार यादव र केएल राहुलले उत्कृष्ट पारी खेले ।

सूर्यले ३३ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५० रन बनाए । राहुलले ५६ बलमा चार छक्का र दुई चौकाको मद्दतमा अविजित ५१ रनको योगदान दिए । उनीहरूबीच तेस्रो विकेटका लागि १०.३ ओभरमा अविजित ९३ रनको साझेदारी बन्यो ।

त्यस्तै, विराट कोहलीले तीन रन जोडे । कप्तान रोहित शर्माले भने खाता खोल्न सकेनन् । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ४ ओभरमा एक मेडनसहित १६ रन दिएर एक विकेट लिए । त्यस्तै, एनरिक नोर्टजेले तीन ओभरमा ३२ रन खर्चेर एक विकेट हात पारे । वेन पार्नेलले ४ ओभरमा १६ रन मात्र दिए पनि विकेट हात पार्न सकेनन् ।

त्यसअघि तिरुवनन्तपुरमस्थित ग्रीनफिल्ड अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनायो । उसका लागि केशव महाराजले सर्वाधिक रन बनाए ।

ल्गातार विकेट पतन भइरहेको अवस्थामा उनले ३५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४१ रन बनाए । त्यस्तै, एडन माक्र्मले २५ र वेन पार्नेलले २४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका चार ब्याटर शून्यमै आउट भए ।

दक्षिण अफ्रिकाले ९ रन बनाउँदा शीर्ष क्रमका पाँच ब्याटर गुमाइसकेको थियो । त्यो कठिन समयबाट माक्र्म र पार्नेलले केही उकासे । तर, यो जोडी पनि लामो समयसम्म टिक्न सकेन । आठौँ विकेटका लागि महाराज र कागिसो रबाडाबीच २० बलमा ३३ रनको साझेदारी बन्दा दक्षिण अफ्रिकाले १ सय रनभन्दा माथिको लक्ष्य दिन सक्यो ।

दक्षिण अफ्रिकाको पारी ध्वस्त पार्न अर्शदीप सिंह र दीपक चाहरले शानदार बलिङ गरे । ४ ओभरमा ३२ रन दिएका उनले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, चाहरले ४ ओभरमा २४ रन दिएर दुई विकेट हात पारे । हर्षल पटेलले ४ ओभरमा २६ रन दिएर दुई विकेट नै लिए । अक्षर पटेलले ४ ओभरमा १६ रन खर्चेर एक विकेट हात पारे ।

यो जितसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० आइतबार हुनेछ । भारत अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज २–१ ले जितेपछि दक्षिण अफ्रिकाविरुद्ध खेलिरहेको हो । यो सिरिजपछि यी दुवै टोली विश्वकपका लागि अस्ट्रेलिया जाने छन् ।

प्रतिक्रिया