Pura Samachar

‘कसूर’ भित्र विचरण गर्दा

प्रकाशित: October 1, 2022
पूरा समाचार

‘कसूर’ भित्र विचरण गर्दा

खेमनाथ दाहाल                                                       डेटिङ, लिभिङ टुगेदर, स्वतन्त्रता र उदारवादका नाममा हाम्रो समाजले अङ्गीकार गर्दै गहिरहेको पाश्चात्य समाजका रोगको परिणाम हो । भर्खरै यौवनावस्थामा प्रवेश गरेका उदया र विपुल क्याम्पसमा भेट भएको केही दिनमै मुजेलिया र ढल्केबरका बार र होटलमा धाउने कर्म पूर्वीय दर्शन पूर्वीय संस्कारले कतै सिकाएको होइन यो त उसको लागि अस्वीकार्य कर्म हो । उसको लागि सामाजिक विचलनको प्रादुर्भाव हो

समाजमा विरलै यस्ता व्यक्तित्वको प्रादुर्भाव हुने गर्दछ जसले दुर्भेद्य किल्लाहरूमा भेद गर्न सामथ्र्य राख्दछ, साधनालाई सिर्जनामा परिणत गरी त्यसमा प्रवीणता हासिल गर्दछ र अमर रहन्छ । सिर्जनाको इतिहासलाई नियाल्ने हो भने विश्व सिर्जनाको क्षितिजमा कैयाँै सर्जकहरू ताराझँै उदाउँछन् कैयौँ अस्ताउँछन् । कति तारा गन्तव्यमा पुग्नुपूर्व आकाश गङ्गामा विलिन भएझैँ विलिन हुन्छन् कति क्षणिक चम्किन्छन् र जति चाँडो झुल्किएका छन् त्यति नै चाँडो बिलाउँछन् र केही कालपछि विस्मृत बन्छन् । यो क्रम कालचक्रवत् चलिरहेछ र चलिरहनेछ सृष्टि पर्यन्त । यो सरल जीवन क्रमलाई कतिले आत्मसात् गर्छन् कतिले जानी नजानी अवज्ञा गर्न पुग्दछन् । नयाँ–नयाँ विषयको साधना गर्नु र त्यस साधनालाई सिर्जनामा परिणत गरी त्यसमा पारङ्गत हुनु सामान्य कुरा अवश्य होइन ।

नेपाली सिर्जना आकाशको क्षितिजलाई नियालेर जब हामी प्रतिभाहरू खोज्न थाल्दछाँै । त्यहाँ हामी अवश्य पनि बहुप्रतिभाका धनी गीतकार, कृतिकार डा. डिआर उपाध्याय÷खनाल नेपाली क्षितिजमा मात्र होइन विश्व सिर्जनाको क्षितिजमा एक प्रदीप्त ताराका रूपमा स्थापित भएको पाउँछौँ । आज उनको सिर्जनाको लहर विश्वको कुना–कुनासम्म गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अस्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेकर्ड प्रदान गर्ने दर्जनभन्दा बढी संस्थामार्फत लहराइरहेका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्ड, बुक अफ अमेरिकालगायत दर्जनाँै संस्थामा नाम दर्ज हुनु यसै पनि असाधारण कर्म मानिन्छ । तर, नेपाली आमाका सन्तान डिआर गीत र सङ्गीत क्षेत्रमा नयाँ सिर्जना गरेर १०९ विश्व कीर्तिमानी रेकर्ड कायम राख्न सफल भएका छन् ।

सायद यसरी एउटै मानिसले यति धेरै कीर्तिमानी रेकर्ड कायम गर्नसक्नु आफैँमा विश्वमै महान् उपलब्धि हो । विश्वमा अधिक कीर्तिमान कायम गर्ने विशिष्ट स्रष्टाको टप टेनमा डा. उपाध्याय अङ्कित भएको जानकारी पाउँदा नेपाल आमाको कुन सन्तति पुलकित नहोला ? हामी सम्पूर्ण नेपालीका लागि आज विश्व रेकर्डका प्रतिविम्ब बनेका छन् भन्दा अतिरञ्जना नहोला । गीत, सङ्गीत र साहित्य सिर्जनामा यतिविघ्न विश्व रेकर्ड कायम गर्ने क्षमताका धनी डा. उपाध्याय पहिलो नेपाली सर्जक हुन् ।

विश्व कीर्तिमानी सर्जक उपाध्यायका अहिलेसम्म ‘प्रणय’, ‘नशालु नजर’, ‘जखम’, ‘प्रतिनाद’, ‘अन्तराप’, ‘सहेली’, ‘जोहो’, ‘माउन्टेन मेलोडी’, ‘परिष्कृत’, ‘कृति’, ‘पृथक्’, ‘अञ्जान’, ‘तिर्खा’, ‘सुधारस’, ‘स्वर्गघर’, ‘नजरको तीर’, ‘सभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दूर’ ‘अनुभूतिको मझेरीमा’, ‘चाहनाको महल’ लगायत तेत्तीस गीति एल्बमहरू स्रोता÷दर्शकमाझ आइसकेका छन् ।

माता उमादेवी र पिता शिवशंकर प्रसाद उपाध्याय खनालका कान्छा सुपुत्रका रूपमा पर्साको वीरगञ्जमा सन् १९६२ मा उदाएका धर्मराज उपाध्याय आज डा. डिआर उपाध्यायका नामले प्रसिद्ध छन् । उनको प्रारम्भिक शिक्षा त्रि–जुद्ध व्यावसायिक माविमा भएको थियो र उच्च शिक्षाको सिलसिला सुरु भएको थियो । उच्च शिक्षा ग्रहणको लागि काठमाडौं छिरेका उपाध्यायले नेपालबाट उच्च शिक्षा गरेपश्चात् त्यतिमा मात्र चित्त नबुझाएर अन्ततः भारतबाट विद्यावारिधिसम्मको उपाधि हासिल गरे र केही राहत महसुस गरे ।

‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।’ कर्म गर तर कर्मका फलको इच्छा नगर अर्थात् कर्म गरेपछि स्वतः कर्म अनुसारको फल प्राप्त हुन्छ भन्ने गीता मर्म सानो छँदै बुबामार्फत बुझेका डिआर विद्यावारिधिमा मात्र सीमित भएर बस्न सकेनन् । उनले यसलाई साधन ठाने न कि साध्य । विद्यावारिधिले उनलाई अझ देश र समाजप्रतिको जिम्मेदारीको बोध भयो । उनमा जन्मिएपछि केही सुकर्म गरेरै जानुपर्छ भन्ने ज्ञान पलायो । यसै ज्ञानको बलले उनलाई आफूमा रहेको प्रतिभाको बोध भयो । उनले कलम समाए र गीतकार भए, कवि, साहित्यकार भए । उनले विधाहरूको पहिचान गरे तिनमा शिल्पको जडी भरे उनी विश्व रेकर्डका नसा–नसामा भिजे, पहिचान गरे र तिनमाथि विजय गरे । र, अन्ततः हिजो व्यवसायी भनेर चिनिएका धर्मराज आज कवि, गीतकार हुँदै विश्व कीर्तिमानी डा. उपाध्यायका रूपमा प्रतिस्थापित भए ।

गीतकार, कवि तथा उपन्यासकार उपाध्यायको प्रकाशोन्मुख कृति ‘कसूर’ चौधौँ कृति हो । यस कृतिपूर्व (१) बज्रघात (२) त्यागी (३) भाग्यचक्र (४) अपवित्र छायाँ (५) स्वार्थी (६) बिटुली (७) अतिरिक्त (८) दगाबाज (९) अधुरो प्रेम (१०) सपनाकी रानी (११) कफी लभ (१२) मेरी प्रिया (१३) भाइरस लभ नामक तेह्र कृतिहरू प्रकाशित भइसकेका छन् । अतः नेपाली साहित्य जगतमा डिआर नौलो नाम होइन भन्दा अतिशयोक्ति नहोला ।

तेत्तिस खण्डको समायोजनबाट पुस्तकको आकारमा पूर्णता पाएको यो उपन्यास ‘कसूर’ भित्र विचरण गर्ने सिलसिलाको प्रथम चरणमा सिआइबीको प्रवेशले कताकता आपराधिक संसारको जगमा उभिएको कृति हो कि ? भन्ने आभास भए पनि उपन्यासको गहिराइमा पुग्दै गर्दा यो कृति अविभावकको वात्सल्य, सन्ततिको कर्तव्यपरायणता र यौवनको झोंक्काभित्र पन्पेको प्रेम, समर्पण र विछोडको सेरोफेरामा लेखिएको अबोध प्रेमभित्रको त्यागको कथाका रूपमा प्रकट भएको अनुभूति हुन्छ । सरल भाषामा लेखिएको यो कृतिभित्र जतिजति पाठकको प्रवेश हुँदै जान्छ उति–उति सलल बगेको प्रतीत हुन्छ ।

शिक्षाको (ज्ञान–मन्त्र) क्रय–विक्रय गर्नु हुँदैन भन्ने पूर्वीय दर्शनको संस्कार बोकेको हाम्रो समाज आज गुरुकुल परम्परालाई चटक्क छाडेर शिक्षा खरिद–बिक्री गर्न उद्यत भएको छ । आज टोल–टोलमा कन्सल्ट्यान्सीका नाममा शिक्षाको खरिद–बिक्रीका केन्द्रहरू स्थापना भएका छन् । कन्सल्ट्यान्सी स्वयंमा राम्रो उद्देश्य लिएर शैक्षिक संस्थाका रूपमा स्थापित भए पनि अन्ततः (प्रायःजसो) जानी नजानी शैक्षिक दलाली केन्द्रका रूपमा परिणत हुन पुगेका छन् । यस विकृतिमा ‘आहान एजुकेसनल कन्सल्ट्यान्सी’ लाई यस प्रकारका कृत्यको साक्षीका रूपमा लेखकले प्रस्तुत गरेका छन् । आहान, विपुल कति पवित्र छन् ? यो कुरा प्रमाणित गर्न लेखकले पाठकलाई जिम्मा दिए पनि इलिशा र जिया जस्ता युवतीहरू व्यावसायिक वस्तुमा परिणत भएको सन्दर्भलाई उल्लेख गरेर उपन्यासकारले समाजलाई दिन खोजेको सन्देश आफैँमा कम मननीय छैन । यो विकृति आफैँमा सामाजिक रोग हो । दोष जसको भए पनि कर्ता अछुतो रहँदैन । खानामा विष जसले मिसाए पनि पहिलो अनुसन्धान त भान्सेबाटै सुरु हुन्छ । कृतिमा कन्सल्ट्यान्सी सञ्चालक विपुललाई एक वर्षको जेल पठाएर लेखकले सामाजिक न्यायको पक्षपोषण गरेका छन् । र यो न्यायोचित पनि छ ।

सृष्टिमा प्राणी जन्मनु मर्नु यो नियमित प्रक्रिया हो । जड शरीर जन्मेपछि अवश्य मर्छ । यस कर्मलाई “वासांसि जीर्णानि यथा विहाय नवानि गृण्हाति नरोपराणि, तथा शरीराणि विहाय जीर्णा –न्ययानि संयाति नवानी देही” जसरी पुराना कपडालाई त्यागेर मानिस नयाँ कपडा धारण गर्दछ त्यसरी आत्माले पुराना शरीरलाई त्यागेर नयाँ शरीरमा प्रवेश गरेर पुनः जन्म लिन्छ भनेर गीताले व्यापक व्याख्या गरेको छ । तर, मानिस जन्मनु र मर्नु बीचको मार्ग सरल अवश्य छैन । मानिस बालक, युवक, वयष्क, वृद्ध हुँदै अन्ततः शीर्ण, जीर्ण भएर विसर्जन हुन्छ । यो सामान्य प्रक्रिया हो तथापि यदाकदा विविध कारणले यसमा व्यवधान हुन पुग्दछ र मानिसको अन्त हुन्छ यसलाई अकाल मृत्यु भनेर पूर्वजहरूले व्याख्या गरेको पाइन्छ । अकाल मृत्यु त्यसै हुँदैन यसले आफू आउँदा सँगसँगै विभिन्न संशयहरूलाई लिएर आएको हुन्छ ।

यस कृतिमा उपाध्यायले कृतिकी नायिका उदयाको मृत्युलाई सामान्य मृत्यु नभएर अकाल मृत्युको रूपमा प्रकट गरेका छन् र कृतिलाई दुःखान्त कृतिको कोटिमा राख्न प्रयत्न गरेका छन् । झट्ट हेर्दा यो मृत्यु सामान्य प्रेमको दुरुपयोगको परिणतिझैँ देखिए पनि यसको अन्तर्य भने आज हाम्रा समाजमा आएको सांस्कृतिक विचलनको प्रतिविम्ब हो । डेटिङ, लिभिङ टुगेदर, स्वतन्त्रता र उदारवादका नाममा हाम्रो समाजले अङ्गीकार गर्दै गहिरहेको पाश्चात्य समाजका रोगको परिणाम हो ।

भर्खरै यौवनावस्थामा प्रवेश गरेका उदया र विपुल क्याम्पसमा भेट भएको केही दिनमै मुजेलिया र ढल्केबरका बार र होटलमा धाउने कर्म पूर्वीय दर्शन पूर्वीय संस्कारले कतै सिकाएको होइन यो त उसको लागि अस्वीकार्य कर्म हो । उसको लागि सामाजिक विचलनको प्रादुर्भाव हो । उपाध्यायले यस कृतिमा विपुल र उदयालाई निमित्त बनाएर अन्ततः यही अमान्य कुराको परिणतिका रूपमा क्यान्सर रोग जस्तो घातक अस्त्रमार्फत प्रयोग गरेका छन् र यो अमान्य संस्कारणको परिणाम पनि दुःखद हुन्छ भन्ने सन्देश प्रवाह गरेका छन् । युवाहरूको लागि सचेत बन्ने प्रेरणाको स्रोतको रूपमा प्रकट भएका छन् ।

युवावस्था यौटा वेग हो यौटा संवेग हो । यो भावी जीवनलाई गन्तव्यमा पु¥याउने पहिलो गोरेटोको निर्णायक मोड पनि हो । यसको सही पहिचान र प्रयोग भयो भने भविष्य सुखद बन्न सक्छ । यस कालको थोरै गल्तीको परिणाम पनि कम भयावह हँुदैन यो यथार्थ हो । यसलाई उपन्यासकारले कृतिमा बढो मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । संवेदनशीलताको अर्को रूप हो नारी त्यसैले नारीलाई संवेदनशीलताकी प्रतिमूर्ति भनिन्छ यस कुरालाई उदयाको समर्पणमार्फत यहाँ व्यक्त भएको छ । दुई÷चारपटक डेटिङ जानेबित्तिकै आफूलाई विपुलसमक्ष समर्पण गर्नु आफैँमा उदयाको गलत कर्म भए पनि नारी संवेदनशीलताले उनलाई यसो गर्न प्रेरित गरेको हो भन्दा अतिशयोक्ति नहोला । एउटी कुलीन नारीको भाषामा प्रेम निर्मल जलको सागर समान हो । त्यहाँ धोका हुँदैन छलछाम हुँदैन । यस कृतिमा उदयाले प्रेमको बाँण लागेर तड्पिरहेको प्रेमीलाई मलमस्वरूप आफूलाई समर्पण गरेको हो नकि वासना परिपूर्तिको लागि भन्ने आशय प्रकट गर्न खोजेकोमा लेखक धन्यवादका पात्र भएका छन् ।

किनकि जब समर्पण स्वार्थमा परिणत भएको नारीमा आभास हुन्छ ऊ कठोर चट्टानमा परिणत हुन सक्छे । यो सत्यता उदया र विपुलबीच भएका पछिल्ला संवादमा प्रकट हुन्छ । पुरुषको भ्रमर प्रवृत्ति र नारीको शालीनतालाई प्रकाश पार्दै यस कृतिमा उल्लेख भएका ‘मेरो शरीर भोग गरिसक्यो क्यारे ! अब तिमीलाई म बेकम्मा लाग्यो होइन’, ‘तिमी नचाहिँदो बकवास बन्द गर उदया ! म तिमीलाई उत्तिकै माया गर्छु । कहिल्यै धोका दिन्नँ । तर, जतिबेला पनि वरिपरि झुम्मिएर माखा धपाउँदै हिँड्ने काम नगरौँ पो भनेको त’, ‘म मान्छु बौद्धिक रूपमा तिमी अब्बल होलाऊ । तर, प्रेम हृदयबाट गरिने चिज हो जहाँ भावनाको कदर हुनुपर्छ । सधैँ नाफा नोक्सान हिसाबबाट मात्र जिन्दगी चल्दैन । यस्ता संवेदनाहीन, रूखा र ठाडा कुरा नगर ।’ (उपाध्याय, पेज १४२)

यी वाक्य आफैँमा पूर्ण छन् वाचाल छन् । जब उदयालाई विपुलबाट बेवास्ता भएको महसुस हुन्छ उनमा नारी संवेदनामा निहित धैर्यको पर्खाल भत्कन्छ । यो माथिको संवादमार्फत उपाध्यायले आजका युवतीलाई सचेत गरेका छन् । माया अमूर्त र अतृप्त भए पनि यो सर्वव्यापी भएर सदावहार भएर यत्रतत्र हुन्छ र हुनुपर्दछ । क्षणिक आवेश आक्रोश तृप्ति, भित्र रूप लिएको प्रेम आफैँमा पीडादायक भएर अन्ततः समाप्त हुन्छ । कृतिमा नायक विपुलको प्रेम विवेकविहीन देखिन्छ भन्दा अतिशयोक्ति नहोला । विपुलले यहाँ उदयाप्रति न्याय गर्न नसक्नु उसको अपरिपक्वताको परिणाम हो । आगोलाई क्रोधले होइन शीतलता (जल) ले मात्र समन गर्न सकिन्छ भन्ने यथार्थलाई उसले बुझ्न सकेन ।

उसले उदयालाई आवेशले होइन प्रेमले सिञ्चन गर्न सकेको भए उनी उसको सामीप्यमा रहेर उसको लक्ष्य प्राप्तिको ऊर्जा हुने थिइन् भन्ने यथार्थता उनले आत्मसात् गर्न जानेन । प्रेममा नाफा नोक्सान हुँदैन । यदि प्रेमलाई नाफा नोक्सानमा तौलन थालियो भने त्यो वासनाको रापमा जलेर र घृणामा परिणत हुन जान्छ । यस कृतिमा लेखक यसै कुरालार्ई उदया र विपुलमार्फत सम्पूर्ण नवयुवक जमातलाई सन्देश सम्प्रेषण गर्न सफल भएका छन् ।

उपसंहार

कृति मूलतः विविधतायुक्त प्रेमको सेरोफेरोमा विचरित छ । सुरुमा कृतिमा प्रवेश गर्नेबित्तिकै आहान, विपुल, इलिशा र जियाको भ्रमपूर्ण प्रेमको झलक पाइन्छ । यो प्रेम पानीको फोकासरह हो भनेर जान्दा जान्दै पनि उपन्यासकारले वर्तमानमा पेसाका सरहले समाजमा उम्रिएको यो रोगलाई समाजमा सचेतता जगाउनको लागि उल्लेख गरेको भन्दा कतै विमति नहोला । यो कृतिले आहान, विपुल, इलिशा र जियाको नाटकीय प्रेमका सेरोफेरोमा पाठक केही क्षण अलमल्याएर अन्ततः यौवनको झोकाको रूपमा विपुल र उदयाको असफल प्रेमभित्रको कारुणिक कथाभित्र रुवाउन थाल्दछ । लेखकले पारिवारिक प्रेम खास गरेर दाजुभाइ बीचको प्रेमलाई बढो महत्त्वसाथ प्रस्तुत गरेका छन् ।

एक्लिँदै गरेको समाजमा आज यो कुरालाई उठान गर्न आवश्यक ठानेर लेखकले सुकृत्य गरेका छन् । कृतिमा पटक–पटक दाजुभाइका बीचका संवाद मननीय र हृदयङ्गम गर्ने गरी सम्प्रेषण गरेका छन् । क्यारियरका नाममा उदयाको प्रेमलाई अवमूल्यन गर्नु स्वयम्मा अपराध हो । गर्भपतनसम्म गरेकी प्रेयसीलाई विचलित बनाउनु, प्रेम पनि जीवनको अर्को पाटो हो जो क्यारियरका लागि अत्यन्त पूर्ण छ भनेर बुझ्न नसक्नु आहान र विपुल दाजुभाइ दुवैको नासमज हो । राम्रो क्यारियर बनाउनु हरेकको कर्तव्य हो तर आफ्नो क्यारियर निर्माणका लागि अर्कालाई मृत्युवरण गर्न लगाउनुको औचित्य कतै हुँदैन यो कृतिमार्फत उपन्यासकारले उजागर गरेका छन् ।

विविध पेसामा लाग्दै अन्ततः कलम समाउन पुगेका डा.उपाध्यायका अन्य प्रकाशोन्मुख कृतिहरू यथाशीघ्र पढ्न पाउने अपेक्षाका साथ यो उपन्यासको सफलताको हार्दिक कामना गर्दछु ।सनराइज होम्स कोलनीबालकुमारी ललितपुर–९(साभार  सौर्य अनलाइन)

प्रतिक्रिया