
काठमाडौं, असोज २५ युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा समूह चरणको चौथो राउन्ड अन्तर्गत आज विभिन्न ८ खेल हुँदैछन् । आजका ८ खेल दुई समयमा हुनेछन् । २ खेल सुरुआतमा हुनेछन् भने बाँकी ६ खेल मध्यरातमा हुनेछन् । अन्तिम १६ को दौडमा रहेको समूह ‘एच’ को इटालियन क्लब युभेन्टसले आज अवे मैदानमा इजरायलको क्लब मेकाबी हाइफाको सामना गर्दैछ । अन्तिम १६ मा जानका लागि युभेन्टसले अबका ३ खेल मध्ये २ खेलमा राम्रो नतिजा निकालेर अर्को टिमको नतिजा पनि हेर्नुपर्छ । ३ वटै खेल जित सबैभन्दा सजिलो । यो समूहमा अहिले फ्रेन्च क्लब पिएसजी र पोर्चुगलको क्लब बेनफिका समान ७ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् ।
यसै समूहबाट आजै पिएसजी र बेनफिकाको खेल पनि हुँदैछ । यो खेल पिएसजीको घरेलु मैदानमा हुनेछ । आजको खेल हुँदा पिएसजी एक प्रमुख खेलाडी लियोनल मेस्सीबिनै हुनेछ । आजको यो खेल जित्ने टिम अन्तिम १६ नजिक पुग्नेछ । यदि पिएसजी आफ्नो घरमा पराजित भयो उसले बाँकी खेलमा राम्रै संघर्ष गर्नुपर्ने हुन सक्छ । अहिले पिएसजी शीर्षमा छ भने बेनफिका दोस्रो स्थानमा छ । यसअघि बेनफिकाको घरमा भएको पहिलो लेग १–१ मा सकिएको थियो ।
आज म्यानचेस्टर सिटीले स्वीट्जरल्यान्डको क्लब कोपेनहेगनको सामना उसकै घरमा गर्दैछ । बोरुसिया डर्टमुन्ड र स्पेनिस क्लब सेभिल्ला आजै डर्टमुन्डको घरमा भिड्दैछन् । अर्को खेलमा इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब चेल्सीको भिडन्त मिलानको घरमा हुँदैछ । यसअघि चेल्सीको घरमा भएको खेलमा चेल्सीले मिलानलाई ३–० ले हराएको थियो । आजको अर्को महत्त्वपूर्ण खेलमा युक्रेनको क्लब शाख्तर र स्पेनिस क्लब रियल मड्रिड शाख्तरको घरमा भिड्दैछन् । रियलले सुरुका ३ वटै खेल जितेर अहिले आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ । आजको खेल जिते वा बराबरी मात्रै गरे पनि रियलले अन्तिम २ खेलअघि नै अन्तिम १६ स्थान पक्का गर्नेछ ।
प्रतिक्रिया