Pura Samachar

अष्ट्रेलियालाई २ सय १ रनको विशाल लक्ष्य

प्रकाशित: October 22, 2022
पूरा समाचार

अष्ट्रेलियालाई २ सय १ रनको विशाल लक्ष्य

एजेन्सी – ओपनर डेभन कन्वे र फिन एलेनको सानदार ब्याटिङमा न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा घरेलु टोली अष्ट्रेलियालाई २ सय १ रनको विशाल लक्ष्य दिएको छ ।सिड्नीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १ रन बनायो । न्युजिल्यान्डका ओपनर डेभन कन्वे ५८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ९२ रनमा अविजित रहे ।

न्युजिल्यान्डलाई ओपनर फिन एलेनले सानदार सुरुवात दिलाए । पावर प्लेको भरपूर्ण फाइदा उठाउँदै उनले १६ बलमा ५ चौका र ३ छक्कासहित ४२ रनको विष्फोटक इनिङ खेले ।

एलेन तीव्र गतिका बलर जोश हेजलवुडको बलमा अघि बढेर सट खेल्ने धुनमा योर्करमा बोल्ड हुन पुगे । त्यो समय ४.१ ओभरमा ५६–१ को अवस्था पुगेको थियो । पहिलो पावर प्लेमा ६५–१ को अवस्थामा थियो ।

त्यसपछि केन विलियम्सन र कन्वेले ५३ बलमा ६९ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाए । विलियम्सन एडम जाम्पाको बलमा २३ रनमा एलबीडब्लू आउट भए । २३ बल खेलेका विलियम्सनले १ चौका र १ छक्का हाने । विलियम्सन स्वीप खेल्ने धुनमा मिस भएका थिए ।

ग्लेन फिलिप्स १० बल खेल्दै १२ रनमा आउट भए । जेम्श निसम १३ बलमा २ छक्कासहित २६ रनमा अविजित रहे । चौथो विकेटका लागि निसम र कन्वेले २४ बलमा ४८ रनको साझेदारी गरे ।

अष्ट्रेलियाका जोश हेजलवुडले प्याट कमिन्सले ४ ओभरमा ४६ रन खर्चे । जोश हेजलवुडले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ३६ रन खर्चिए । एडम जाम्पाले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।

प्रतिक्रिया