Pura Samachar

टी-२० विश्वकपमा आयोजक अष्ट्रेलियाकाे पहिलो जित

प्रकाशित: October 26, 2022
पूरा समाचार

टी-२० विश्वकपमा आयोजक अष्ट्रेलियाकाे पहिलो जित

काठमाडौं । आठौं संस्करणको टी-२० विश्वकपमा आयोजक अष्ट्रेलियाले पहिलो जित निकालेको छ । आज भएको खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलो जित निकालेको हो । श्रीलंकाले दिएको १ सय ५८ रनको लक्ष्य अष्ट्रेलियाले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि मार्कस स्टोइनिसले १८ बलमा अविजित ५९ रनको अर्धशतकीय इनिङ खेले । त्यसक्रममा उनले ६ छ्क्का र चार चौका हिर्काए । कप्तान आरोन फिन्चले अविजित ३१ तथा ग्लेन म्याक्सवेलले २३ रन बनाए ।

श्रीलंकाका लागि धनन्जय डि सिल्भा,महेश तिक्षणा र चमिका करुणारत्नेले एक/एक विकेट लिए । त्यसअघि पर्थ स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

उसका लागि पथुम निशंकाले ४०, चरिथ अशलंकाले अविजित ३८, धनन्जय डिसिल्भाले २६ र चमिका करुणात्नेले नटआउट १४ रन बनाए । अस्ट्रेलियाका लागि जोस हेजलउड, प्याट कमिन्स, ग्लेन म्याक्सवेल, एस्टन अगर र मिचेल स्टार्कले एक/एक विकेट लिए ।

जारी विश्वकपमा आफ्नो पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले हराएको थियो । अस्ट्रेलिया भने पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध ८९ रनले पराजित भएको थियो ।

प्रतिक्रिया