Pura Samachar

कोरोना कहरमा वर्षाको कहरले थप पीडा

प्रकाशित: September 25, 2020

कोरोना कहरमा वर्षाको कहरले थप पीडा

✍️ डा. आर उपाध्याय
काठमाडौं,
आश्विन ९ ।

विगत तीन दिनदेखी देशभर अविरल वर्षा भइरहेको छ । जसका कारण बाढी पहिरो जानुका साथै जनधनको क्षति हुन पुगेको छ । अविरल वर्षाका कारण नदीहरूमा बहाव बढेको छ भने पहिरोले देशका मुख्य राजमार्ग र ग्रामिण सडकहरु ठाउँ ठाउँमा प्रभावित भएका छन् ।

सामान्यतया सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ । विगतका तुलनामा यस वर्षको बाढी पहिरोले धेरै क्षति पुर्‍याएको छ । कोरोना कहरमा रहेका बेला वर्षाको कहरले थप पीडा थपेको छ । कोरोनाको कहरसँगै मुलुक बाढी र पहिरोको चपेटामा परेको छ । वर्षामा पहाड र हिमाली क्षेत्रमा पहिरो जाने र तराईमा बाढी र डुबानका कारण बर्षेनी अर्बौको धनजनको क्षति भइरहेको छ ।

हरेक वर्षको वार्षायाममा धेरै नेपालीको विचल्लि हुने घटना बढदो छ । पहाडमा पहिरो र तराई मधेशमा डुबानको समस्या भोग्न बाध्य छौ हामीहरू । पहिरोले धनजनको क्षतिसँगै सडक र लोकमार्गमाहरू अवरुद्ध गरेर सामाजिक जीवनका आयामहररूमा पनि असर गरिरहेको छ ।

पहाडमा बाटो खन्दा जथाभावी डोजर तथा स्काभेटरको प्रयोगका कारण पहिरोको समस्या बढदै गएको छ भने तराईमा भारतले एकतर्फी रूपमा बनाएको सीमावर्ती बाधका कारण हरेक वर्ष डुबानको समस्या भोग्न बाध्य भएका छौ । यसले ठूलो मात्रामा जनधनको क्षति हुँदै गएको छ । यसको जोखिमलाई न्युनीकरण गर्नेतर्फ सरोकारवाला निकायको ध्यान जानु जरूरी छ । भारतसँग संवातका मार्फत बाधका विषयमा विकल्प खोज्नु आवश्यक छ भने पहाडमा जोखिममा रहेको बस्ती सुरक्षित स्थानमा स्थानान्तरण तर्फ सरकारको ध्यान जानुपर्छ ।

बाढीपहिरोले पुल बगाउँदा, अस्थायी नै भए पनि, तुरुन्त पुल बनाइन्छ । भत्केको सडक मर्मत गरिन्छ । बिजुली आपूर्ति अवरुद्ध हुँदा सुचारु गरिन्छ । तर, पहिरो र डुबानका कारण अन्न उत्पादन गर्ने जमिनमा क्षति हुँदा राज्यको कुनै पनि निकायको चासोको विषय बन्न सकेको छैन ।

यस वर्षको मनसुनमा पहिरोबाट सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकले व्यहोरेको छ । पहिरो मात्रै होइन बाढीले पनि सिन्धुपाल्चोकमा क्षति पुर्‍याएको छ । सबैभन्दा त्रासदीपुर्ण घटना जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदीमा भएको थियो । गत साउन ३० गते त्यहाँ भयानक पहिरो जाँदा ३७ जनाको ज्यान गयो । पहिरोमा परेका दुई जना अझै वेपत्ता छन् । सिन्धुपाल्चोककै मेलम्ची नगरपालिकामा गत साउन १९ गते पहिरोमा पुरिएर १० जनाको मृत्यु भयो । यो वर्षको असार यता मात्रै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका र जुगल गाउँपालिकामा बाढीपहिरोबाट ठूलोजनधनको क्षती भएको छ । त्यस्तै मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिकामा पनि पहिरोले व्यापक जनधनको क्षती बनाएको छ ।

त्यस्तै पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-६, मराङमा बस्ती माथिबाट खसेको पहिरोमा पुरिँदा १९ जनाले ज्यान गुमाए । कालीकोटको तिलागुफा नगरपालिका-१ स्थित नाग्म बजारमा पहिरोले चार घर भत्किाउँदा १० जनाको मृत्यु भयो । यस्तै कालिकोटकै महाबै गाउँपालिका-३ मा पहिरोमा परी ६ जनाको मृत्यु भएको थियो । त्यसैगरी तनहुँ, गुल्मी, ताप्लेजुङ, स्याङजा, धादिङ, पाल्पा, कपिलवस्तुलगातका जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोका कारण जन धनको क्षति भएको छ । मोरङ, पाँचथर, झापा, सुनसरी, तेह्रथुम, उदयपुर, नुवाकोट, भक्तपुर, काभ्रेपलान्चोक, बर्दिया, नवपपरासी पश्चिमलगायतका जिल्लामा यो वर्षको वर्षाले धरै क्षति पुगेको गृह मन्त्रालयको तथ्याङ्कमा छ ।

यो वर्ष वर्षातको समयमा भएका विपदका घटनामा परी ४ सय ४० जनाको मृत्यु भएको छ भने १ सय २० जना अझसम्म हराइरहेका छन् । यस्तै ७ सय ४५ जना घाइते भएका छन् । गृह मन्त्रालयको तथ्याङ्क अनुसार देशका सबै ७७ वटै जिल्लामा कुनै न कुनै विपदका घटनाबाट प्रभावित भएका छन् । मनसुन अझै सक्रिय रहेकाले क्षति बढ्नसक्छ ।

यो अवधिमा १ हजार ८ सय ८६ वटा विपदका घटना भएका छन् । विपदका घटनाबाट देशभरका ५ हजार ८ सय २९ घरपरिवार प्रभावित भएका छन् । एक हजार २ सय ३६ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने दुई हजार ८ सय ४२ घर आंशिकरुपमा क्षतिग्रस्त भएका छन् ।

पहाडमा बढी पहिरो जाने ठाउँको वस्तीलाई सार्ने र अब एकीकृत बस्ती निर्माण गर्नुपर्छ । जहाँ पहिरोको जोखिम कम भएको छ त्यहाँ बसोबास गराउनु पर्दछ । पहाडमा बाटो बनाउँदा माटो र पहिरोको बारेमा व्यवसायिक इन्जिनियरले हेरेर, डिजाइन गरेर काम गर्नुपर्ने हुन्छ । तर, हामीकहाँ जथाभावी डोजर प्रयोग बढनाले पहिरो बढी गएको हो, यो रोक्नुपर्छ । विपतको पूर्व तयारी र प्रतिकार्यको तयारी सरकारको उचित ध्यान पुगेको पाइदैन । विपदको अवस्थामा छिटो खोज तथा उद्धार कार्यकालाई तदारूकताका साथ अघि बढाउनु आवश्यक छ ।

प्रतिक्रिया