
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि लिभरपुलले सानदार जितका साथ च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ ।लिभरपुलले आयाक्सको मैदानमा ३–० को जित निकालेको हो । लिभरपुलको सहज जितमा मोहम्मद सलाह, डार्विन नुनेज र हार्भे इलिओटले गोल गरे । पहिलो हाफमा १–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा दुई गोल थप्दै जित पक्का गर्यो ।
योहान क्रुएफ एरिना हाम्सटर्डममा बुधबार राति भएको खेलको ४२औं मिनेटमा मोहम्मद सलाहको गोलबाट लिभरपुलले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले जोर्डन हेन्डरसनको पासमा गोल गर्न सफल भएका थिए ।
४९औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ५२औ मिनेटमा सलाहको पासमा हार्भे इलिओटले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।
यस जितसँगै लिभरपुलले समूह ‘ए’ मा ५ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित आयाक्स ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा रेन्जर्स अंकविहीन हुँदै पुछारमा छ ।
यही समूहको अर्काे खेलमा इटालियन क्लब नेपोलीले स्कटिस क्लब रेन्जर्सलाई ३–० ले पराजित गरेको छ । नेपोलीको जितमा जियोभानी सिमिओनले दुई तथा लियो ओस्टिगार्डले एक गोल गरे । नेपोलीले समूह चरणको सबै ५ खेलमा जित हासिल गरेको छ ।
यस जितसँगै नेपोली ५ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहँदा पराजित रेन्जर्स अंकविहीन हुँदै पुछारमा छ ।
प्रतिक्रिया