
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराएको छ । समूह ए मा रहेको एपिएफ लगातार दोस्रो जितसँगै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितको लागि ६८ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ११.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको छ । एपिएफको जितमा आसिफ शेख ३२ बलमा ७ चौका र १ छक्कासहित ४२ रनमा अविजित रहे । प्रदीप ऐरी ३६ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूर २७ ओभरमा ६७ रनमा अल आउट भयो । सुदूरका लागि कप्तान राजु रिजालले ६८ बलमा २ चौकासहित सर्वाधिक २४ रन बनाए । सुदूरका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपिएफका भुवन कार्कीले ९ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए । कमलसिंह ऐरी र मौसम ढकालले दुई दुई विकेट लिए । किशोर महतो र अमरसिंह राउटेलाले एक एक विकेट लिए ।
एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराएको थियो । सुदूरपश्चिम गण्डकीसँग ६९ रनले पराजित भएको थियो । समूह ए मा एपिएफ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।
समूह ए मा आर्मी, एपिएफ, गण्डकी, सुदूरपश्चिम र कर्णाली छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश १ छन् ।
प्रतिक्रिया