
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब समूह विजेता बन्दै पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मधेश प्रदेशलाई १ सय ९१ रनले हराउँदै पुलिस समूह विजेता बनेको हो।
पुलिसले दिएको २ सय ७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेशले २९ ओभर ३ बलमा अलआउट हुँदै ८२ रन मात्र बनाउन सक्यो ।
मधेशका लागि मोहमद आदील आलमले सर्वाधिक ४२ रन जोडे ।
रतन रौनकले ११ तथा कप्तान हरिशंकर शाहले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
मधेशलाई सस्तैमा समेट्न पुलिसका कुशल भुर्तेलले ५ विकेट लिए । करण केसीले ३ तथा राशिद खानले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ७३ रन बनाएको थियो ।
पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए ।
आरिफले ७३ रनको अर्धशतकीय इनिङ खेल्दा अमित श्रेष्ठले ६५ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै दीपेन्द्रले ५१ रनको अर्धशतकीय इनिङ खेले । दिलिप नाथले ४० रन जोड्दा सुनिल धमला ११ रनमा आउट भए ।
मधेशका रुपेश सिंह र राजेश यादवले ३/३ विकेट लिए । आदील आलमले २ विकेट लिए ।
यस जितसँगै समूह ‘बी’ को शीर्ष स्थानमा रहेको पुलिसले ४ खेलमा अपराजित रहदै ८ अंक जोड्यो ।
मधेशले ४ खेलमा ५ अंक जोड्यो । मधेशले पनि समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ
मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
आर्मीले दिएको २ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले २८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो ।
कर्णालीका विपिन रावलले सर्वाधिक ४८ रन बनाए । अर्जुन घर्तिले १७ तथा प्रकाश जैशी र सन्दीप शाहीले समान ११/११ रन बनाए ।
आर्मीका रोहित पौडेलले ३ तथा हरि चौहान र शाहब आलमले २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित रहदै सर्वाधिक ३७ रन बनाए ।
कुशल मल्ल र रोहित पौडेलले समान ३५/३५ रन जोडे । हरि चौहानले ३१ रन जोड्दा अर्जुन साउदले २० रन बनाए ।
राजेश पुलामी २८ रनमा अविजित रहदा अनिल मण्डल १७ रनमा आउट भए । कर्णालीका प्रकाश जैसीले ३ विकेट लिए । दीपेन्द्र रावतको नाममा २ विकेट रह्यो ।
यस जितसँगै आर्मीले समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । आर्मीले ४ खेलमा ६ अंक जोड्यो ।
यस समूहबाट एपीएफ ७ अंक जोडेर समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरिसकेको छ ।
आर्मीको जितले गण्डकी भने बाहिरिएको छ । कर्णाली पनि अंक विहीन रहदै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया