
मोरङ । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।
नोबेल अस्पतालमा उपचार गराइरहनुभएका थापाको आज बिहान निधन भएको हो । उहाँ एक महिना अगाडिदेखि निमोनियाले ग्रसित हुनुहुन्थ्यो । नोबेल मेडिकल कलेजका डाइरेक्टर राजेश नेपालले दिएको जानकारी अनुसार उनको आज बिहान १० बजेर ४० मिनेटमा निधन भएको हो । उहाँ मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभाको निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँको निधनपछि उक्त क्षेत्रमा नयाँ प्रक्रिया हुने भएको छ ।
उहाँले बिरामी अवस्थामै असोज २३ गते उम्मेदवारी दर्ता गराउँनुभएको थियो । भोलिपल्ट असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना हुनुभएका उहाँलाई त्यहाँ उपचार हुन नसकेपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो । उक्त अस्पतालमा १७ दिन आइसीयू र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो । उहाँलाई दुई दिन अगाडि बेड रेस्टको लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो ।
२०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन भएर काम गर्नुभएका थापा हाल प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट लड्नुभएका उहाँ तत्कालीन एमाले नेता चण्डी राईसँग पराजित हुनुभएको थियो । ०७४ सालमा काँग्रेसबाट उहाँ प्रदेशसभामा समानुपातिक कोटाबाट सांसद बन्नुभएको थियो ।
प्रतिक्रिया