Pura Samachar

विभागीय टोली त्रिभुवन आर्मी क्लब पीएम कपकाे फाइनलमा प्रवेश

प्रकाशित: November 11, 2022
पूरा समाचार

विभागीय टोली त्रिभुवन आर्मी क्लब पीएम कपकाे फाइनलमा प्रवेश

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलको रोमान्चक खेलमा नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले ४९ ओभर ५ बलमा ८ विकेट गुमाएर ३ सय ९ रन जोड्दै पूरा गर्यो ।

आर्मीको जितमा रोहित पौडेलले ८९ रनको अर्धशतकीय इनिङ खेले । यस्तै अर्धशतकीय इनिङ खेलेका हरि चौहानले ७५ रन बनाए ।

राजेश पुलामीले अविजित ४३ रन बनाए भने शाहब आलम १ रनमा अविजित रहे ।

कप्तान विनोद भण्डारीले ३२ रन जोड्दा बिक्रम सोबले ३० रन बनाए ।

अर्जुन साउद ११, भिम शार्की १० र कुशल मल्ल सुन्य रनमा आउट भए ।

पुलिसका करण केसीले ६ विकेट लिए । राशिद खान र ललित राजवंशीले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो ।

पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय इनिङ खेले ।

दीपेन्द्रले १ सय ४० रन बनाए । उनले १ सय २५ बलमा ११ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै आरिफ शेखले अविजित रहदै ९१ रनको अर्धशतकीय इनिङ खेले ।

करण केसी ८ रनमा अविजित रहे ।

कुशल भुर्तेल ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रनमा आउट भए ।

आर्मीका बिक्रम सोबले ३ विकेट लिए । सुशन भारीको नाममा १ विकेट रह्यो ।

अब उपाधिका आर्मीले एपीएफ क्लबको सामना गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई हराएर एपीएफ फाइनलमा प्रवेश गरिसकेको छ।

प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् ।

त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।

प्रतिक्रिया