
काठमाडौं । इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली अष्ट्रेलियाले एक खेल अगावै जितेको छ । शनिबार भएको म्याचमा इंग्ल्याण्डलाई ७२ रनले हराउँदै अष्ट्रेलियाले सिरिज एक खेल अगावै जितेको हो । अष्ट्रेलिया पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो ।
हालै अष्ट्रेलियामै टी-२० विश्वकप जितेको इंग्ल्याण्डले पनि लगातार दोस्रो हार बेहोर्यो । दोस्रो खेलमा अष्ट्रेलियाले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ३५.५ ओभरमा सबै विकेट गुमाएर २ सय ८ रन मात्र बनाउन सक्यो । उसका लागि साम बिलिङ्गसले ७१, जेम्स विन्सले ६०, फिल साल्टले २३, लियाम दसनले २० र कप्तान मोइन अलीले १० रन बनाए ।
अष्ट्रेलियाका लागि मिचेल स्ट्राकले ८ ओभरमा ४७ रन दिएर ४ विकेट लिए । त्यस्तै, एडम जम्पाले ९.५ ओभरमा ४५ रन खर्चंदै ४ विकेट नै लिए । कप्तान जोस हेजलउडले तीन विकेट हात पारे ।
सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८० रन बनायो । उसका लागि आज स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे ।
११४ बलको सामना गरेका उनले पाँच चौका र एक छक्कासहित ९४ रन बनाए । उनी छक्का हान्ने धुनमा शतक बनाउन चुके । त्यस्तै, मिचेल मार्शले ५९ बलमा दुई चौका र दुई छक्कासहित ५० रन बनाए । मार्नस लाबुसेनले ५५ चार चौका र एक छक्काको मद्दतमा ५८ रनको योगदान दिए ।
सिरिजको पहिलो खेलमा स्मिथले अविजित ८० रन बनाएका थिए । ट्रभिस हेड १९, डेविड वार्नर १६ र मार्कस स्टोइनिस १३ रनमा आउट भए । एस्टन अगरले अविजित १८ रन बनाए । इंग्ल्याण्डका लागि आदिल राशिदले तीन, डेविड विली, क्रिस वोक्सले दुई/दुई र कप्तान मोइन अलीले एक विकेट लिए ।
प्रतिक्रिया