Pura Samachar

स्वर्णलिखित पुस्तक प्रज्ञा पारमिताको जीर्णोद्धार चल्दै

प्रकाशित: September 28, 2020

स्वर्णलिखित पुस्तक प्रज्ञा पारमिताको जीर्णोद्धार चल्दै

१२ असोज, काठमाडौं । ललितपुरको क्वाबहालमा रहेको हिरण्यवरवर्ण महाविहार (स्वर्ण मन्दिर)मा राखिएको स्वर्णलिखित पुस्तक प्रज्ञा पारमिताको जीर्णोद्धार गरिएको छ ।

मलमासको समयमा पुस्तक पाठ गर्ने काम नहुने भएकोले असोज २ गतेदेखि पुस्तकको जीर्णोद्धार सुरु गरिएको हो । वि.सं.२०५४ सालदेखि हरेक पटकको मलमासमा पुस्तकको जीर्णोद्धार गर्ने गरिएको छ ।

करिब ७९५ वर्ष पहिले आनन्द भिक्षुले लेखेको प्रज्ञा पारमिता बौद्ध ग्रन्थमा रहेको नौ मुख्य ग्रन्थमध्येको एक हो । यो पुस्तक रञ्जना लिपी र संस्कृत भाषामा लेखिएको छ ।

यसलाई वर्षभरि नै पाठ गर्ने गरिएकोले हरेक साढे २ वर्षमा आउने मलमासको समयमा जीर्णोद्धार गर्ने गरिएको छ । पहिले नियमित यसको जीर्णोद्धार गर्ने नगरिएको भए पनि २०५४ सालदेखि हरेक मलमासको महिनाभरि यसको जीर्णोद्धार गर्ने गरिएको योङ मेन्स बुद्धिस्ट एसोसिएसनका दि्वतीय उपाध्यक्ष सुरेश बज्राचार्यले जानकारी दिए ।

प्रतिक्रिया